नेपाललाई ऐतिहासिक सफलता


 


काठमाडौं, मंसिर २४
घरेलु मैदानमा भूटानविरुद्ध २–१ को हकलाग्दो जीत दर्ता गर्दै नेपालले १३ औं दक्षिण एशियाली खेलकुद साग फुटबलको उपाधि जितेको छ ।

यो जीतसँगै नेपालले साग फुटबल इतिहासमा उपाधि संख्या ४ पुर्याएको छ । फाइनल खेलको पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो । अभिषेक रिजालले नेपाललाई अग्रता दिलाएपनि भुटानका कप्तान चेन्चो ग्याल्सेनले बराबरी गोल फर्काए ।
खेलको १६ औं मिनेटमा अभिषेकले ६ यार्ड बक्सनजिकबाट गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । उनले विकास खवासको लामो थ्रो इनलाई पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट नियन्त्रण गर्दै गोल गरे ।

नेपालका लागि दोस्रो गोल सुनिल बलले खेलको ५३ औं मिनेटमा गरेका थिए । उनको गोलले नेपालको अग्रता दोब्बर भएसँगै नेपाली टिमको आशा चुलिएको थियो । त्यसपछि जब्बर नेपाली रक्षापंक्तिको अवरोध छिचोल्न नसक्दा दक्षिण एशियाली फुटबलको फाइनलमा पहिलोपटक पुगेको भूटान नेपाललाई खेल सुम्पिन बाध्य भयो ।

त्यसअघि नेपालले खेलको १२ औं मिनेटमा नै सुजल श्रेष्ठलाई गुमायो । पछिल्लो खेलमा चोट बोकेका उनको स्थानमा राजेश परियार मैदान प्रवेश गरेका थिए । खेलको ३६ औं मिनेटमा भुटानले बराबरी गोल फर्कायो । चेन्चो ग्याल्सेनले पेनाल्टी क्षेत्र भित्रबाट उत्कृष्ट फिनिसिङ गर्दै भुटानलाई खेलमा फर्काएका थिए । खेलको इन्ज्युरी समयमा नेपालले पेनाल्टीको लागि अपिल गरेपनि सुमन अर्यालमाथि पेनाल्टी क्षेत्रभित्र भएको फललाई रेफ्रीले वास्ता गरेनन् ।
यसअघि नेपालले सन् १९८४, १९९३ र २०१६ मा साग फुटबलको उपाधी जितेको थियो। । फिफा वरियतामा १७० औं स्थानको नेपालले १८९ औं स्थानको भूटानलाई लिग चरणमा ४–० ले हराएको थियो ।

प्रकाशित मिति: २४ मंसिर २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्