मुसहर विद्यार्थीलाई स्कुलमा टिकाउनै गाह्रो


 


महोत्तरी, ४ पुस
वर्षेनी दलित र गरीब बस्तीलाई लक्षित गरी विद्यालय भर्ना कार्यक्रम चलाइए पनि महोत्तरी जिल्लाका मुसहर र बाँतर समुदायका बालबालिकालाई विद्यालयमा टिकाउन धौधौ हुने गर्दछ ।

प्रत्येक वर्ष बैशाखमा घर–घर पुगेर मुसहर र बाँतर बस्तीका बालबालिकालाई ल्याएर भर्ना गरिए पनि उनीहरू विद्यालयमा टिक्न नसक्नुमा गरीबी र अशिक्षा नै मुख्य कारण भएकोे बताइएको छ ।

जिल्लामा मुसहर र बाँतर जातिका दलित समुदायको मुख्य बसोबास भएको ठाउँमा भङ्गाहा नगरपालिका क्षेत्र पहिलो नै मानिन्छ । यी जाति समुदायका बस्तीबाट वर्षेनी बालबालिका ल्याएर विद्यालय भर्ना गरिए पनि केही वर्षभित्रै उनीहरूको विद्यालय आउने क्रम टुट्ने गरेको भङ्गाहा–५ स्थित माध्यमिक विद्यालयका शिक्षक कमलबहादुर श्रेष्ठ बताउनुहुन्छ । “म करीब ३० वर्षदेखि यसै विद्यालयमा कार्यरत छु”, उहाँले भन्नुभयो, “मुसहर, बाँतर समुदायबाट एसइई उत्तीर्ण विद्यार्थी सङ्ख्या नगन्य रहेको छ ।” “मुसहर टोलबाट विद्यार्थी ल्याउनै गाह्रो, ल्याए टिकाउनै गाह्रो” श्रेष्ठले भन्नुभयो, “मुसहर र बाँतर टोलमा धेरैपटक घरदैलो गरेर बल्लबल्ल नानीहरू ल्याइन्छ तर उनीहरू यहाँ टिक्दैनन्, त्यसमा पनि छोरीलाई त विद्यालय ल्याउन झनै गाह्रो छ ।”

भङ्गाहा–३ का रिङ्कु सादाले ९ कक्षासम्म पुगेर पनि विद्यालय आउन छाडिन् । रिङ्कु मात्र नभएर सोही बस्तीकी १४ वर्षीया अम्बिका सादा ८ कक्षा पढ्दापढ्दै विद्यालय आउन छाडिन् । त्यसैगरी ७ कक्षामा पढ्दै गरेकी बिना सादा, ६ कक्षामा पढ्दै गरेका बिसालु, रुबी, रितम र पविता सबै विद्यालय आउन छाडेका छन् । जम्मा ११० घर रहेका भङ्गाहा–३ को मुसहरी टोलबाट अहिलेसम्म एउटै पनि छात्राले १० कक्षा पुगेका छैनन् भने छात्रमा पनि एक मात्र सिमल सादाले एसइई उत्तीर्ण गरेका छन् ।

भङ्गाहा–१ र २ को सिङ्ग्याही–३ को सकरी, ४ को पलार, ५ को सिद्धपुर र कर्पुरगञ्ज–६ को हतिसर्वा मजरा, ८ को धर्मपुर अन्हारवन र भङ्गाहा–९ हरिनमरीमा रहेका बाँतर बस्तीका नानी पनि विद्यालयमा टिक्न सकेका पाइँदैनन् ।

नगर क्षेत्रभित्र पाँच माध्यमिक र २५ आधारभूत तहका समेत ३० सामुदायिक विद्यालय छन् । यी विद्यालयका सेवा क्षेत्रभित्र मुसहर र बाँतर समुदायको धेरै बसोबास भए पनि यी समुदायबाट एसइई उत्तीर्ण गर्ने कक्षा १० नाघ्न नसकेका भङ्गाहा नगर कार्यपालिकाको कार्यालयमा शिक्षा शाखामा कार्यरत अरुण भुजेल बताउनुहुन्छ ।

मुसहर र बाँतर समुदायका बालबालिका विद्यालयमा टिक्न नसक्नुमा गरीबी र अशिक्षा मात्र नभई विद्यालयभित्रको कुशल व्यवस्थापन हुन नसक्नु पनि कारण रहेको मुसहर किशोरी बताउँछन् । “समयमा हामीलाई भनिएको छात्रवृत्ति दिइँदैन, पैसाको अभावले कापी, कलम जुटाउन सकिन्न अनि के जानु स्कूल ?” आठ कक्षामा पढ्दापढ्दै विद्यालय जान छाडेकी सोही बस्तीकी अम्बिका सादाले भनिन्, “हामीले सोधेको कुरा पनि शिक्षकहरूले राम्ररी जवाफ दिनुहुन्न । उल्टै हप्काउनुहुन्छ, बुझेका हुँदैनौँ, परीक्षा आइपुग्छ, अनि के लेख्न जानिन्छ र स्कूल जानु ?” आपूmहरू अझै पढ्न चाहे पनि परिवार, विद्यालय र वरपर समाज सहयोगी नभएका कारण शिक्षा आर्जनबाट बञ्चित रहनुपरेको मुसहर किशोरीको गुनासो छ ।

माध्यमिक विद्यालय भङ्गाहाका प्रधानाध्यापक श्रीराम यादव यो गुनासोसँग सहमत हुनुहुन्न । “विद्यालयभित्र मुसहर, बाँतर बालबालिकाले पठनपाठनको अवसर नपाएका भन्ने होइन, सबै विद्यार्थीसँग हामीले समान व्यवहार गरेका छौँ”, यादवले भन्नुभयो, “दलितका लागि भइआएको व्यवस्थाअनुसारको सुविधा दिएका छौँ ।”

भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साह भने आफ्नो नगर राज्यबाट उपेक्षित भएको हुँदा शिक्षामा सुधार आउन नसकेको बताउनुहुन्छ । “नगरपालिकामा शिक्षा शाखा हेर्न उपसचिव स्तरका कर्मचारीको कल्पना गरिएको छ तर बिडम्बना हाम्रो नगरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अहिलेसम्म एकजना खरदार पनि पठाएको छैन”, प्रमुख साहले रोष व्यक्त गर्दै भन्नुभयो ।

प्रकाशित मिति: ४ पुस २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्