के हो शीतलहर, कसरी चल्छ ?


 


विराटनगर , पुस ६

पुस पहिलो सातादेखि बढेको चिसोले देशैभरको जनजीवन प्रभावित बनेको छ ।
खासगरी मुलुकको मैदानी भुभाग शितलहरको कहरले आक्रान्त छ । आखिर के हो शितलहर ? यो कसरी चल्छ ?

हरेक वर्ष हिउँदमा चल्ने शीतलहरले तराईको र हिमपातले उच्च हिमाली क्षेत्रको दैनिकी बिथोल्दै आएको छ । नेपालको तराई क्षेत्रमा हरेक वर्ष शीतलहरले धेरैको ज्यान लिने गरेको छ ।
खासगरी उत्तरी भारतमा बढेको औद्योगिकीकरणलगायतका प्रकृतिमा प्रतिकूल प्रभाव पार्ने गतिविधिबाट सिर्जित शीतलहर तराईका जिल्लाहरूमा हरेक वर्ष ठूलो धनजनको क्षतिको कारक बन्दै गए पनि यसबाट बच्ने तयारी भने शून्य छ ।
साढे दुईदशक यताको तथ्यांक हेर्दा नेपालमा शीतलहरबाट हरेक वर्ष सरदर ३७ जनाको मृत्यु हुने गरेको देखिन्छ । सन् १९९० पछि नेपालको दक्षिणी मैदानमा शुरू भएको शीतलहरका कारण ५२ जिल्लाका एकहजार जनाको ज्यान गइसकेको अभिलेख नेपाल प्रहरीसँग छ ।
शीतलहर चल्न थालेपछि मानव स्वास्थ्य बाहेक खेतीपाती, पशुपालन, सडक यातायात, हवाई उडान, पर्यटन, शैक्षिक संस्थालगायत प्रभावित हुन्छ । रावलपिन्डी (पाकिस्तान) देखि रंगपुर (बाङ्लादेश) सम्म फैलिने शीतलहरले दक्षिण एशियाको उत्तरी मैदानी इलाकामा हरेक वर्ष ५० करोडदेखि एक अर्ब जनालाई प्रभावित गर्ने विभिन्न अध्ययनको निष्कर्ष छ ।
सूर्योदयसँगै बढेर मध्याह्नमा उच्चविन्दुमा पुग्ने तापक्रम सूर्यास्तसँगै घटेर सूर्योदय हुनुअघि न्यूनविन्दुमा झरिसकेको हुन्छ । राति सौर्यकिरण नहुने हुँदा पृथ्वीमा तापक्रम क्रमशः घट्दै न्यूनतिर झर्छ । मौसमविद्हरूका अनुसार, सापेक्षिक आर्द्रता कम भएका बेला जलवाष्प जलकणमा परिणत हुन्छ । त्यो जलकणलाई बोलीचालीको भाषामा कुहिरो भनिन्छ । कुहिरो लागेको बेला पृथ्वीको सतह र नजीकको वायुमण्डल चिसो र त्यसभन्दा माथिल्लो भागको वायुमण्डल न्यानो हुन्छ ।

दिन छिप्पिंदै जाँदा पृथ्वीको सतहको तापक्रम पनि बढ्दै जान्छ र वायुमण्डलको जलकण फेरि जलवाष्पमा परिणत हुन्छ । अर्थात् कुहिरो हट्छ । तर कुहिरोको तह बाक्लो भएर आवश्यक मात्रामा सौर्य किरण पृथ्वीको सतहसम्म आउन सकेन भने दिनभरि कुहिरो हट्दैन । त्यही अवस्थालाई शीतलहर भनिन्छ ।
न्यून तापक्रम, जलवाष्पको प्रचूरता, प्रशस्त धूलीकण र बादल हटाउन पुग्ने सौर्य किरण पृथ्वीको सतहसम्म नआइपुग्नु शीतलहरको लागि उपयुक्त वातावरण हो । यस्तो बेलामा मध्याह्नमा समेत सूर्यको किरण बादलको माथिल्लो भागबाटै परावर्तन भएर जान्छ । सूर्यकिरणले छिचोल्न नसकेपछि पृथ्वीको सतहमाथि बादल हट्दैन र शीतलहर कायम रहन्छ । हप्तौं रहने भएकाले यस्तो अवस्थालाई शीतलहर भनिएको हो ।
इन्धनको अत्यधिक प्रयोग, ईंटाभट्टा, डढेलो, विषाक्त धुवाँ–धूलो, फोहोर, हरितक्रान्ति आदि कारणले लामो समय जमीन चिसो रहन थालेको छ, जसले शीतलहर चल्ने वातावरण बन्छ । अपर्याप्त वर्षा, भौगोलिक अवस्थिति, हावाको बहाव आदिले शीतलहरको वातावरणलाई अझ् अनुकूल बनाउँछ । आँधीबेहरी आउँदा वा पानी पर्दा बाक्लो बादल फाटेर शीतलहर हट्छ ।

प्रकाशित मिति: ६ पुस २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्