वन मासेर रंगशाला निर्माण गर्दै गोदावरी नगरपालिका


 



धनगढी, पुस ९
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ स्थित दुर्गालक्ष्मी सामुदायिक वनको जग्गामा खेलकुद रंगशाला बनाउन लागिएको छ । गोदावरी नगरपालिकाले नै वन ऐन विपरित वन अतिक्रमण गरेर रंगशाला बनाउन लागेको हो ।

आर्थिक वर्ष २०७४/७५ देखि रंगशाला बनाउन सुरु गरेको नगरपालिकाले वनको १२ विघा जग्गामा पर्खालसमेत लगाइसकेको छ । रुख र बुट्यानसहित रहेको क्षेत्रमै नगरपालिकाले वन ऐन विपरित खेलकुदका लागि रंगशाला बनाउन लागेको हो ।

‘वनको जग्गामा नगरपालिकाले खेलमैदान बनाउन लागेको नगरपालिकाले पनि स्वीकार गरेको छ । नगरपालिकाका सूचना अधिकारी शिवराज भाटले वनको जग्गामा पर्खाल र गेट निर्माण गरिसकेको बताउनुभयो ।

उहाँले ब्याडमेन्टन, भलिवल कोर्टसंगै आन्तरिक खेलका लागि हल निर्माण गर्न बजेटसमेत विनियोजन गरिएको जानकारी दिनुभयो । गोदावरी नगरपालिकाले तीन करोड ७५ लाख बजेटमा खेल मैदानको संरचना निर्माण गर्न योजना अघि बढाएको जनाइएको छ ।

आर्थिक वर्ष ०७४÷७५ मा खेल मैदान बनाउनका लागि ८० लाख बजेट विनियोजन गरेको नगरपालिकाले ३० लाख रकम मात्रै खर्च गर्न सकेको थियो । त्यो रकम खेल मैदानलाई आवश्यक जग्गा संरक्षण, पर्खाल र गेट निर्माणमा खर्च गरिएको थियो ।

गत आर्थिक वर्ष २०७५/७६ मा पनि हल निर्माणलगायतका लागि नगरपालिकाले २० लाख रकम विनियोजन गरेको थियो । तर, त्यो रकम विविध कारणले नगरपालिकाले खर्च गर्न सकेन । गत वर्ष रकम खर्च हुन नसकेपछि नगरपालिकाले पुनः चालू आर्थिक वर्ष २०७६/७७ मा ‘अत्तरियामा खेलकुद रंगशाला निर्माण’ शीर्षकमा २० लाख बजेट विनियोजन गरेको छ ।

वन ऐन अनुसार जग्गा आफनो स्वामित्वमा नलिई सरकारी रकम खर्च गर्न नपाइने प्रावधान रहेको छ । तर, नगरपालिकाले आफै मनपरी तरिकाले वनको जग्गामा रंगशाला बनाउने कार्य सुरु गरिसकेको छ । डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले वन ऐनअनुसार त्यसरी वनमा कुनैपनि संरचना निर्माण गर्न नपाइने बताउनुभयो ।

‘गोदावरी नगरपालिकाले सामुदायिक वनको जग्गामा सरकारी रकम खर्च गरेको छ,’ उहाँले भन्नुभयो, ‘त्यो वन ऐनविपरित छ, अब नगरपालिकाले निर्माण गरेको पर्खाल र गेट डिभिजन वन कार्यालयले भत्काउँछ ।’

संस्थागत अतिक्रमण

गोदावरी नगरापालिकाको आँखा मात्रै वनमा नपरेको नभई क्षेत्र क्षेत्रमा अन्य निकायहरुले पनि वन अतिक्रमण गरेर विभिन्न संरचना निर्माण गरेका छन् । यसलाई संस्थागत अतिक्रमण भनिन्छ । अत्तरिया क्षेत्रमा अत्तरिया उद्योग वाणिज्य संघ, प्रदेश ट्राफिक कार्यालय, नेपाल रेडक्रस सोसाईटी उपशाखा अत्तरिया, दुर्गालक्ष्मी बहुमुखी क्याम्पसलगायतले वन अतिक्रमण गरेका छन् ।

यति मात्रै नभई मन्दिर, गुम्वाका नाममा पनि वन अतिक्रमणको चपेटामा परेको छ । डिभिजन वन कार्यालयले वन अतिक्रमण हटाउने अभियान थालनी गरेको दाबी गरेपनि अत्तरियामा क्षेत्रमा उल्टै धमाधम संरचनाहरु निर्माण भइरहेका छन् ।

तर, डिभिजन वन कार्यालय प्रमुख कँडेलले दुर्गालक्ष्मी सामुदायिक वनमा भएका भौतिक संरचनाहरु भत्काउन इलाका वन कार्यालयलाई पत्राचार गरिसकेको दाबी गर्नुभयो । उहाँले कुनै न कुनै बहानामा अहिले वन क्षेत्र संरक्षण गर्न चुनौति रहेको पनि स्वीकार गर्नुभयो ।

उहाँले अहिले स्थानीय जनप्रतिनिधीहरुको नजर पनि वन क्षेत्रनै परिरहेकाले वन अतिक्रमण हटाउन चुनौती थपिएको बताउनुभयो । ‘वनलाई जानकारीनै नदिई स्थानीय तहहरु वन विनाशमा लागिरहेका छन्,’ उहाँले भन्नुभयो, ‘यो हाम्रा लागि चुनौतीको विषय हो ।’

उहाँकाअनुसार कैलाली जिल्लाको २५ हजार हेक्टर बढी वन क्षेत्र अतिक्रमण भएको छ । दुई वर्षअघिको तथ्यांकअनुसार जिल्लामा २१ हजार एक सय ५४ हेक्टर वन क्षेत्र अतिक्रमण भएको थियो ।

प्रकाशित मिति: ८ पुस २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्