राष्ट्रियसभा निर्वाचनमा भाग लिने दललाई निर्वाचन चिन्ह, कसैलाई गोरुगाडा कसैलाई ट्याक्टर


 


काठमाडौं, पुस ९
आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा भाग लिने ११ राजनीतिक दललाई निर्वाचन आयोगले निर्वाचन चिन्ह प्रदान गरेको छ ।

आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सूर्य, नेपाली काँग्रेस रुख, समाजवादी पार्टीलाई पाँच औँलासहितको हत्केला, राष्ट्रिय जनता पार्टी नेपाल ढल्केको छाता र राष्ट्रिय प्रजातन्त्र पार्टीले गाई चुनाव चिन्ह प्राप्त गरेका छन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) हलो, राष्ट्रिय जनमोर्चा गिलास, नेपाल मजदुर किसान पार्टी मादल, नेपाल संघीय समाजवादी पार्टी बस, नेपाली जनता दलले गोरुगाडा चक्का (पाङ्ग्रो) र इतिहासिक प्रजातान्त्रिक जनता पार्टी ट्र्याक्टर निर्वाचन चिन्हले प्राप्त गरेका छन् ।

आयोग निर्वाचनका लागि सात जना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृृत र दुई जना न्यायाधीशलाई जगेडा निर्वाचन अधिकृतसमेत तोकिसकेको छ ।

आयोगका अनुसार मोरङका मेदिनीप्रसाद पौडेल, धनुषाका राजकुमार खतिवडा, ललितपुरका मोहनबहादुर कार्की, कास्कीका काजीबहादुर राई, दाङका रितेन्द्र थापा, सुर्खेतका राजेन्द्रकुमार आचार्य र डोटीका विदुर काफ्ले निर्वाचन अधिकृत तोकिएका छन् ।

जगेडा निर्वाचन अधिकृतमा कैलाशप्रसाद सुवेदी र दिवाकर भट्टलाई तोकिएको छ । न्याय परिषद्को परामर्शमा आयोगले उहाँहरुलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।

प्रकाशित मिति: ९ पुस २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्