विश्वविद्यालयमा नकाबधारी समूहको आक्रमण, १८ विद्यार्थी घाइते


 


काठमाडौं, पुस २१
भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) मा नकाबधारी समूहले आक्रमण गर्दा १८ विद्यार्थी घाइते भएका छन् ।

आइतबार साँझ भएको आक्रमणबाट जेएनयू छात्र संघका अध्यक्ष आईसी घोषस पनि घाइते भएका छन्। घाइतेहरुलाई अस्पताल पुर्‍याउनका लागि सात वटा एम्बुलेन्स प्रयोग गरिएको थियो ।उनीहरुले क्याम्पस र छात्राबासमा घुसेर आक्रमण गरेका थिए ।

प्रत्यक्षदर्शीका अनुसार मुखमा मास्क लगाएका ५० जनाभन्दा बढी आक्रमणकारीका हातमा फलामे डण्डी र लठ्ठी थियो ।विश्वविद्यालय प्रशासनले आक्रमणको निन्दा गर्दै दोषी पहिचान गरी कारबाही गर्न प्रहरीसमक्ष माग राखेको छ । गृहमन्त्री अमित शाहले पनि घटनाको अनुसन्धान गरी आवश्यक कदम चाल्न निर्देशन दिएका छन् ।

जनवरी १ तारिखदेखि विश्वविद्यालयमा शीतकालीन सत्र सुरु भएको थियो । त्यसपछि विद्यार्थीहरुको रजिष्ट्रेशनको काम भइरहेको थियो । रजिष्ट्रेशनको समर्थन र विरोध गर्ने विद्यार्थीहरुबीच मतभेद थियो । यही विषयलाई लिएर ५ जनवरीको दिन दिउँसो विद्यार्थीहरुबीच झडप भएको थियो । त्यसपछि साँझ नकाबधारी समूहले छात्राबासमा प्रवेश गरी आक्रमण गरेको विश्वविद्यालय प्रशासनले जनाएको छ ।

प्रकाशित मिति: २१ पुस २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्