अष्ट्रेलियासँगको वानडे सिरिज भारतलाई, रोहित र विराटको रेकर्ड


 


काठमाडौं, माघ ६
अष्ट्रेलिया विरुद्धको एकदिवसीय क्रिकेट सिरिज भारतले जितेको छ । अन्तिम खेलमा ७ विकेटले हराउँदै अष्ट्रेलिया विरुद्धको सिरिज भारतले २–१ ले जितेको हो । ‘निर्णायक म्याच’मा अष्ट्रेलियाले दिएको २ सय ८७ रनको लक्ष्य भारतले ४७.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि रोहित शर्माले शतक बनाए । उनले १२८ बलमा ६ छक्का र ८ चौकाको मद्दतमा ११९ रन बनाए । यस्तै कप्तान विराट कोहलीले ९१ बलमा ८ चौका प्रहार गर्दै ८९ रनको योगदान दिए । श्रेयस अय्यरले अविजित ४७, केएल राहुलले १९ र मनिष पाण्डेले नटआउट ८ रनको योगदान दिए ।

बलिङमा अष्ट्रेलियाका एश्टन अगर, एडन जम्पा र जोश हेजलउडले एक–एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८६ रन बनायो । उसका लागि अनुभवी ब्याट्सम्यान स्टिभ स्मिथले शतक बनाए । उनले १३२ बलमा १४ चौका र १ छक्काको मद्दतमा १ सय ३२ रन नबाए । वानडे क्रिकेटमा स्मिथको यो नवौं शतक हो । अघिल्लो खेलमा स्मिथ ९८ रनमा आउट भएका थिए ।

अष्ट्रेलियालाई २ सय ८७ यो लक्ष्यमा पुर्‍याउन मार्नस लाबुशेनले ५४, एलेक्स क्यारीले ३५, आरोन फिन्चले १९ रनको योगदान दिए । अष्ट्रेलियाका अन्य खेलाडीले भने दोहोरो अंकमासेमत रन बनाउन सकेनन् । बलिङमा मोहम्मद शामीले ४, रवीन्द्र जडेजाले २, कुलदीप यादव र नवदीप सैनीले एक–एक विकेट लिए ।

विराटले बनाए अर्को कीर्तिमान, तोडियो धोनीको रकेर्ड

भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले विश्वकीर्तिमान बनाएका छन् । उनले वानडे क्रिकेटमा कप्तानको रुपमा सर्बाधिक छिटो ५ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका हुन् ।

विराटले १ सयभन्दा कम पारीमै ५ हजार रन पूरा गर्न सफल भए । अष्ट्रेलिया विरुद्धको वानडे सिरिजको अन्तिम म्याचमा १७ रन बनाएसँगै विराटले यो उपलब्धि हासिल गरेका हुन् । उनले ८२ पारीमै वानडेमा ५ हजार रन बनाउन सफल भए ।

विराट अघि यो कीर्तिमान भारतीय टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको नाममा थियो । धोनीले १२७ पारीमा वानडेमा ५ हजार रन बनाएका थिए ।

विराटले वानडे क्रिकेटका २१ शतकसमेत बनाएका छन् । जुन वानडेमा कप्तानको रुपमा बनाइएको यो सबैभन्दा बढी शतक हो ।

रोहित शर्माले बनाए अर्को कीर्तिमान

भारतीय क्रिकेट टीमका ओपनर रोहित शर्माले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा ९ हजार रन पूरा गरेका छन् । उनले आज अष्ट्रेलियासँगको सिरिजको अन्तिम खेलमा ४ रन बनाएसँगै वानडेमा ९ हजार रन पूरा गरेका हुन् ।

योसँगै भारतको तर्फबाट रोहित वानडेमा सबैभन्दा कम पारीमा ९ हजार रन पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । विश्व क्रिकेटमा भने वानडेमा सर्बाधिक छिटो रन बनाउनेको सूचीमा रोहित तेस्रो स्थानमा छने । उनले यो उपलब्धि २१७ पारीमा हासिल गरेका हुन् ।

सर्बाधिक छिटो ९ हजार रन बनाउने सूचीमा रोहितले भारतीय क्रिकेटका महान् क्रिकेटर सचिन तेन्दुलकर र सौरव गांगुलीलाई पछि पारेका छन् । सचिनले वानडेमा २३५ पारीमा ९ हजार रन बनाएका थिए ।

गांगुलीले २२८ पारीमा ९ हजार रन पूरा गरेका थिए । वानडे क्रिकेटमा सर्बाधिक कम पारीमा ९ हजार रन बनाउने खेलाडीको सूचीमा विराट कोहली शीर्ष स्थानमा छन् । उनले १९४ पारीमा ९ हजार रन बनाएका थिए ।

यो सूचीको दोस्रो स्थानमा दक्षिण अफ्रिकाका स्टार क्रिकेटर एबी डीभिलियर्स छन् । उनले २०५ पारीमा ९ हजार रन बनाएका थिए ।

प्रकाशित मिति: ६ माघ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्