म्यान्चेस्टर सिटीको संघर्षपूर्ण जीत


 


काठमाडौं, माघ ८
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा दोस्रो स्थानको म्यान्चेस्टर सिटीले संघर्षपूर्णं जित निकालेको छ ।

म्यानचेस्टर सिटीले शेफिल्ड युनाइटेडलाई १–० ले पराजित गरेको हो । म्यानचेस्टर सिटीको जितमा खेलको ७३ औं मिनेटमा सर्जियो अग्युरोले गरेको गोल नै निर्णायक बन्यो । उनले पछिल्ला तीन खेलमा एक ह्याट्रिकसहित ६ गोल गरेका छन् । अतिरिक्त खेलाडीका रुपमा मैदान छिरेका अग्युरोले केविन डे ब्रुएनको पासमा गोल गर्दैै महत्वपूर्ण तीन अंक टिमलाई दिलाएका हुन् ।

जितपछि दोस्रो स्थानको म्यानचेस्टर सिटीको २४ खेलबाट ५१ अंक भएको छ । दुई खेल कम खेलेको शीर्ष स्थानको लिभरपुलको ६४ अंक छ । पराजित भएको शेफिल्ड युनाइटेड २४ खेलबाट ३३ अंकसहित सातौं स्थानमा छ । गएराति नै भएको अर्को खेलमा चेल्सी र आर्सनलले बराबरी खेल्दै अंक बाँडेका छन् । पहिलो हाफको मध्यतिर १० खेलाडीमा सीमित भएको आर्सनलले घरेलु टोली चेल्सीलाई २–२ गोलको बराबरीमा रोकेको हो ।

खेलको २६ औं मिनेटमा डेविड लुइज सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि आर्सनल १० खेलाडीमा सीमित भयो । त्यसको दुई मिनेटपछि पाएको पेनाल्टीमा जर्जिन्होले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । गाब्रिएल मार्तिनेलीले ६३ औं मिनेटमा आर्सनलका लागि बराबरी गोल फर्काए ।

तर ८४ औं मिनेटमा सिजर एजप्लिक्वेटाले गोल गर्दै पुनः चेल्सीलाई अग्रता दिलाए । तर त्यसको तीन मिनेटपछि हेक्टर बेलेरिनले आर्सनलका लागि बराबरी गोल फर्काएपछि दुवै टोलीले अंक बाँडेका हुन् । बराबरीपछि चौथो स्थानको चेल्सीको २४ खेलबाट ४० अंक भएको छ । १० औं स्थानमा रहेको आर्सनलको ३० अंक छ । लिग अन्तर्गत गएराति भएका अरु खेलमा एस्टन भिल्लाले वाट्फोर्डलाई २–१, बर्नमाउथले ब्राइटनलाई ३–१ तथा साउथह्याम्प्टनले क्रिष्टल प्यालेसलाई २–० ले पराजित गरेका छन् । यस्तै एभर्टन र न्यूक्यासलले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रकाशित मिति: ८ माघ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्