प्रहरीको सम्पर्कमा गएकै दिन आस्था राउत अस्पताल भर्ना


 



काठमाडौं, माघ १४
प्रहरीको हिरासतमा रहेकी गायिका आस्था राउतलाई अस्पताल भर्ना गरिएको छ। प्रहरी समक्ष आत्मसमर्पण गरेकै दिन आस्था राउत अस्पताल भर्ना भएकी हुन् ।

राउतले सोमबार बिहान प्रहरी समक्ष आत्मसमर्पण गरेकी थिइन्। स्वास्थ्य अवस्था विग्रिएपछि उनलाई सोमबार बेलुका त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पताल भर्ना गरिएको हो।

चिकित्सकको सल्लाहमा उनलाई अस्पतालमै भर्ना गरिएको प्रहरीले जनाएको छ । यसअघि सोमबार नै जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतलाई चार दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी जवान रमिता श्रेष्ठ र आस्थाबीच विवाद भएपछि जवान श्रेष्ठले अभद्र व्यवहारमा उजुरी दिएकी थिइन्।

उजुरीका आधारमा उनीविरुद्ध प्रकाउपुर्जी जारी भएको थियो। प्रहरीले पनि उनीविरुद्ध लगाएको अभद्र व्यवहार मुद्दाको छिनोफानो चाँडो सकाउन सोमबार बिहानैदेखि प्रक्रिया थालेको थियो। तर, सोमबार अनुसन्धान नसकिएकोले हिरासतमा नै राखिएको बताइएको छ।

प्रकाशित मिति: १४ माघ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्