प्रधानमन्त्री निवासमा प्रदर्शन गर्न पुगेका निहारिका र बिनु पक्राउ



काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास क्षेत्रबाट दुई महिला पक्राउ परेका छन् ।

बिहीबार बिहान विरोध प्रदर्शन गर्न प्रधानमन्त्री निवास क्षेत्रमा पुगेका निहारिका राजपुत र बिनु यादव पक्राउ परेका हुन् ।

निषेधित क्षेत्र तोडेकाले उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौले जनाएको छ ।

प्रधानमन्त्रीलाई सांकेतिक विरोधस्वरुप कालो झण्डा देखाउन उनीहरू त्यहाँ पुगेका थिए। तर झण्डा देखाउन नपाउँदै प्रहरीले नियन्त्रणमा लिएको छ।

घरेलु हिंसामा परेको र अदालतमा विचाराधीन मुद्दा छिटो सुनुवाइ हुनुपर्ने माग गर्दै निहारिका र बिनुले केही दिनदेखि निरन्तर आन्दोलन गरिरहेका छन्।

यसअघि सिंहदरबारको दक्षिण गेटमा धर्ना बसेका निहारिका र बिनु लाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

गृह मन्त्रालयमा आफ्ना समस्या राख्न सिंहदरबार प्रवेश गर्न खोजेका उनीहरूलाई आवश्यक प्रवेश पास नभएको भन्दै प्रहरीले रोकेको थियो। त्यसपछि दुवै जना गेटमै धर्नामा बसेका थिए।

बिनु सडकमै सुतेर विरोधमा उत्रिएकी थिइन् भने निहारिका सानो बच्चा च्यापेर वर्षामा भिज्दै गेटमै बसेकी थिइन्। पछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार