नेपालले मार्ला फड्को ?


 


काठमाडौं, माघ २२

क्रिकेट खेल्ने हरेक मुलुकको सपना हुन्छ एकदिवसीय मान्यता प्राप्त गर्ने र विश्वकप प्रतियोगिता खेल्ने ।

नेपालले दुई वर्षअघि एकदिवसीय मान्यता पाइसकेको छ । अब उसको लक्ष्य विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने हो । विश्वकपकै सिँढीका रूपमा रहेको त्रिकोणात्मक सिरिज आजदेखि त्रिवि क्रिकेट मैदानमा हुँदैछ । त्यसैले आजको दिन नेपाली क्रिकेटका लागि ऐतिहासिक हो ।

नेपालले पहिलोपटक घरेलु मैदानमा सिरिज खेल्दैछ । नेपालले कीर्तिपुरमा ओमानसँग खेल्दै उक्त सिरिजको शुरुआत गर्दैछ र यसैबाट सन् २०२३ मा हुने विश्वकपको यात्रा नेपालले थालनी गर्दैछ । क्रिकेट खेलाडी, प्रशिक्षक, क्यान पदाधिकारीसँगै आम नेपाली क्रिकेटप्रेमी यो सिरिजबाट निकै उत्साहित छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीबाट निलम्बन फुकुवा भएपछि पहिलोपटक सिरिज आयोजना गर्न पाएकामा क्यान अध्यक्ष चतुरबहादुर चन्द मङ्गलबार सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमा निकै हर्षित देखिनुभयो । “निलम्नबनबाट फुकुवा भएको छोटो समयमा हामीले सिरिज आयोजना गर्दैछौँ, सबै कुरालाई बिर्सेर विश्वकपको यात्रालाई अघि बढाउँदै छौँ”, उहाँले भन्नुभयो ।

अध्यक्षसँगै क्यान महासचिव अशोकनाथ प्याकुरेल सहमत देखिनुभयो । उहाँले भन्नुभयो, “यो सिरिज हाम्रा लागि ठूलो परीक्षणका साथै अवसर हो, यसमा हामीले हरेक तरिकाले अब्बल सावित गर्नुपर्छ ।” निलम्बन फुकुवापछि क्यानसित अनेकन चुनौती रहे पनि ती सबैको सामना गर्ने अवसर सिरिजलाई लिएको प्याकुरेलको भनाइ थियो । त्रिकोणात्मक सिरिजलाई क्यान ऐतिहासिक बनाउन चाहन्छ । टिकट बिक्रीको जिम्मा नेपालयले पाएको छ । एउटा खेलको टिकट मूल्य रु २०० तय गरिएको छ ।

ओमान सन् २०१२ पछि नेपाल खेल्न आएको छ । सन् २०१३ यता नेपालले उसलाई हराउन सकेको छैन । घरेलु मैदानको फाइदा लिँदै ओमानलाई हराउने दाउमा नेपाल रहेको छ । नेपालले शनिबार अर्को टोली अमेरिकासँग खेल्दैछ । अमेरिका सन् २०१० पछि नेपाल आएको हो । ओमानका कप्तान जिसन मक्सुद र अमेरिकी कप्तान सौरभ नेत्रभाल्करले नेपाली दर्शकलाई सिरिजमा आफ्नो टोलीको बाधकका रूपमा लिएका छन् । “नेपाली दर्शकले हामीलाई दबाबमा राख्नेछन्”, पत्रकार सम्मेलनमा दुवै कप्तानले एउटै स्वरमा भन्नुभयो ।

विश्वकपको रोडम्यापको रूपमा रहेको डिभिजन दुईमा हालसम्म अमेरिकाले आठ खेल तथा ओमानले छ खेल खेलिसकेको छ । नेपालले घरेलु मैदानबाट आफ्नो यात्रा शुरु गर्दैछ । तीनवटै टोलीले यो सिरिजमा चार÷चार खेल खेल्नेछन् । माघ २९ गतेसम्म चल्ने सो सिरिजअन्तर्गत नेपालले दोस्रो खेल अमेरिकासँग माघ २५ गते, तेस्रो खेल ओमानसँग माघ २६ गते तथा अन्तिम खेल अमेरिकासँग माघ २९ गते खेल्नेछ । यस सिरिजमा ८५ हजार डलरको हाराहारीमा खर्च हुने अनुमान गरिएको छ । अहिलेसम्म अमेरिका अङ्क तालिकाको शीर्षस्थानमा छ । आठ खेल खेलेको उसले छ खेलमा जीत निकाल्दै १२ अङ्क बटुलेको छ । स्कटल्यान्ड नौ अङ्क जोड्दै दोस्रो स्थानमा, आठ अङ्क जोडेको नामिबिया तेस्रो स्थानमा, आठ अङ्कै जोडेको ओमान चौथो स्थानमा, सात अङ्क जोडेको युएई पाँचाँै तथा अङ्कविहीन अवस्थमा रहेको पपुवान्यूगिनी छैटाँै स्थानमा छ ।

नेपाली टोलीमा कप्तान ज्ञानेन्द्रसँगै उपकप्तान दीपेन्द्रसिंह ऐरी, पारस खड्का, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहरा, कुशल मल्ल, कमलसिंह ऐरी, सुशन भारी, रोहितकुमार पौडेल, शरद भेषवाकर र ललितनारायण राजवंशी छन् ।
सन् २०१७ पछि नेपालले पहिलोपटक घरेलु मैदानमा ५० ओभरको खेल खेल्दै छ । यसअघि नेपालले सन् २०१६ र २०१७ मा कीर्तिपुरमा केन्या र नामिबियासित विश्व क्रिकेट लिग च्याम्पियनसीप खेलेको थियो ।

आइसीसी विश्व कप क्रिकेट लिग दुई सन् २०२३ मा आयोजना हुने विश्वकपसम्म पुग्ने सिँढी हो । लिग दुईमा नेपाल, अमेरिका, ओमान, स्कटल्यान्ड, नामिविया, युएई र पपुवान्यूगिनी रहेका छन् । उक्त लिग सन् २०१९ को अगस्तदेखि शुरु भएको हो । लिगमा हालसम्म अमेरिका, स्कटल्यान्ड र पपुवान्यूगिनीले आठ÷आठ खेल खेलिसकेका छन् । नामिविया र युएईले सात÷सात खेल तथा ओमानले छ खेल खेलिसकेको छ । नेपालले पहिलो सिरिज खेल्दैछ । लिगको शीर्ष तीन टोलीले सन् २०२३ को विश्वकप क्रिकेटको छनोटमा सोझै स्थान बनाउने छन् । बाँकी चार टोलीले विश्वकप छनोटमा प्रवेश पाउनका लागि फेरि प्लेअफ खेल्नेछन् । उक्त प्लेअफमा लिग दुईबाट आउने चार टोली तथा च्यालेन्ज लिगबाट आउने दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनोट सन् २०२२ मा आयोजना हुनेछ । विश्वकप छनोटमा सुपर लिगका पुछारका पाँच, लिगबाट आएका तीन तथा प्लेअफबाट आउने दुई टोली गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनोटको विजेता र उपविजेता टोलीले सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकप क्रिकेटमा भाग लिन पाउने छन् ।

प्रकाशित मिति: २२ माघ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्