नेपाल ओमानसँग पराजित


 


काठमाडौं, माघ २२
बहुप्रतिक्षित खेलमा फेरि एकपटक ब्याटिङ चल्न नसक्दा नेपालले ओमानसँग १८ रनको हार व्यहोरेको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको त्रिकोणात्मक आईसीसी क्रिकेट लिग–२ सिरिजको उद्घाटन खेलमा नेपाल पराजित भएको हो। सिरिजमा नेपालसहित अमेरिका र ओमान रहेका छन्।

टस जितेर फिल्डिङ रोजेको नेपाललाई ओमानले १९८ रनको लक्ष्य दिएको थियो। लक्ष्य पछ्याउने क्रममा नेपाल ४६.५ ओभरमा १७९ रनमै समेटियो। नेपालका प्रारम्भिक ब्याट्स्म्यान सस्तैमा समेटिएपछि लक्ष्य भेट्टाउन नसकेको हो।
ओपनरद्वय कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्का लगातार आउट भएका थिए। नेपालका लागि भरोसा ठानिएका पारस ३ रनमै पेभिलियन फर्किए। त्यस्तै कप्तान ज्ञानेन्द्र १ रनमै आउट भए।

नेपालका लागि तेस्रा क्रममा ब्याटिङ गर्न आएका शरद भेषावकरले सम्हालिएर खेल्दै अर्धशतक बनाए। उनले ५ चौकाको मद्दतमा ५५ रन बनाए। त्यस्तै उपकप्तान दीपेन्द्रसिंह ऐरीले २ छक्का र ५ चौकाको मद्दतमा ३६ रन जोडे। उनले शरदसँग ६२ रनको साझेदारी गरे। यसैगरी नेपालका लागि सन्दीप लामिछानेले आक्रामक ब्याटिङ गर्दै २७ बलमा २८ रन बनाए। उनले १ छक्का र ३ चौका हिर्काए।

यसअघि ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १९७ रन बनाएको थियो। ओमानका लागि उसका महम्मद नदीमले नटआउट ६९ रन जोडे। त्यस्तै सन्दीप गौडले ३३ तथा नसिम खुशीले २८ रन जोडे।

नेपालका लागि करण केसीले ४ विकेट लिए। ९ ओभर बलिङ गरेका उनले ४७ रन खर्चिए। त्यस्तै एक दिवसीयमा डेब्यू गरेका सुशन भारीले ३ विकेट हात पारे।

प्रकाशित मिति: २२ माघ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्