बार्सिलोना र रियल मड्रिडलाई धक्का


 


काठमाडौं, माघ २४
स्पेनका दुई महारथी फुटबल क्लब बार्सिलोना र रियल मड्रिड कोपा डेल रे फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएका छन् ।

बिहीवार राती भएको खेलमा बार्सिलोना एथ्लेटिक विल्वाओसँग र रियल मड्रिड रियल सोसिडाडसँग पराजित भएका हुन् ।

यस्तै भ्यालेन्सिया ग्रानाडासँग पराजित हुँदा भियारियाल दोस्रो श्रेणीको मिरान्डासँग पराजित भयो ।

एथ्लेटिक विल्वाओले घरेलु मैदानमा बार्सिलोनालाई १–० ले हरायो । निर्धारित ९० मिनेटको खेल गोलरहित बनेपछि थप गरिएको ६ मिनेटको इन्जुरी टाइममा विल्वाओले गोल गर्दै खेल जित्यो ।
इन्जुरी टाइमको तेस्रो मिनेटमा इबाई गोमेजको पासमा इनाकी विलियम्सले निर्णायक गोल गरे ।
यस्तै हाल स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको मड्रिड सोसिडाडसँग ४–३ ले पराजित भयो । रियलको घरेलु मैदानमा सोसिडाडले कुनै समय ३–० को अग्रता बनाएको थियो ।

रियलबाटै लोनमा गएका मार्टिन ओडेगार्डले २२ औं मिनेटमा सोसिडाडका लागि पहिलो गोल गरे । अलेक्जान्डर आइज्याकले ५४औं र ५६औं मिनेटमा गोल गरेपछि सोसिडाडले ३–० को अग्रता बनायो । रियलका लागि मार्सेलोले ५९औं मिनेटमा पहिलो गोल गरे ।

तर ६९औं मिनेटमा मिकेल मेरिनोले गोल गर्दै सोसिडाडलाई ४–१ को अग्रता दिलाए । ८१औं मिनेटमा रोड्रिगोले रियलका लागि दोस्रो गोल गर्दै गोल अन्तर घटाउने प्रयास गरे । इन्जुरी टाइमको तेस्रो मिनेटमा नाचोले गोल गर्दै खेल ४–३ को वस्थामा पुर्‍याए । तर रियलले हार टार्न सकेन ।

सोसिडाडका एन्डोनी गोरोसाबेल इन्जुरी टाइममा रातो दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।

बार्सिलोना र रियल नै पराजित भएपछि कोपा डेल रे मा २०१० पछि यी दुई ठूला क्लब फाइनलमा नहुने भएका छन् । २०१० मा सेभिया र एथ्लेटिको मड्रिड फाइनल पुगेका थिए । त्यसयता रियल र बार्सिलोनामध्ये कुनै एक क्लबले फाइनल खेल्दै आएका थिए । बार्सिलोना सर्वाधिक ३० पटकको च्याम्पियन समेत हो ।

यस्तै ला लिगाकै क्लब भियारियाल मिरान्डासँग ४(२ ले पराजित भयो । त्यसअघि भ्यालेन्सिया ग्रानाडासँग २-१ ले पारजित भएको थियो । भ्यालेन्सिया साविक विजेता समेत हो ।

प्रकाशित मिति: २४ माघ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्