आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखला: अमेरिकालाई १ सय ९१ रनको लक्ष्य


 


काठमाडौं , माघ २५
आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा अमेरिकाविरुद्ध नेपालले रनको लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले ४९.२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १९० रन बनाएको हो।

युवा खेलाडी कुशल मल्ल नेपालका लागि ओडिआईमा अर्धशतक प्रहार गर्ने सातौ र विनोद आठौं खेलाडी समेत बने । विनोदले ५९ र कुशलले ५० रन बनाए । शरद भेषावरले चोटका कारण सिरिज गुमाएपछि उनको स्थानमा टिममा आएका सुवास खकुरेलले कप्तान ज्ञानेन्द्र मल्लसंग इनिङ्सको शुरुवात गरेका थिए । तर सुवास व्यक्तिगत ३ रन बनाएर पहिलो विकेटको रुपमा आउट भए ।

एकदिवसीय अन्तर्राष्ट्रियमा विनोदको यो पहिलो अर्धशतक हो । एकदिवसीय अन्तर्राष्ट्रिय अर्धशतक बनाउने उनी आठौं नेपाली खेलाडी हुन् । डेब्यु खेलमै अर्धशतक पुरा गरेका कुशलले ५० रन बनाए । कुशलले डेब्यु खेलमै अर्धशतक बनाएर विश्व कीर्तिमान समेत बनाएका छन् ।

कुशल कम उमेरमा एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । कुशलले १५ वर्ष ३ सय ४० दिनमा एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने विश्व कीर्तिमान बनाएका हुन् । यसअघि सो कीर्तिमान नेपालकै रोहित कुमार पौडेलको नाममा थियो । पौडेलले १६ वर्ष १ सय ४६ दिनको उमेरको कीर्तिमान बनाएका थिए ।

यस्तै नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले २१ रन जोड्दा पारस खड्का १९ रनमा आउट भए । करण केसीले १२ रन जोडे । अमेरिकाका क्यामरुन स्टेभेनसनले ३ विकेट लिए । रुस्ती थोरेन र कप्तान सौरभ नेत्राभाल्करले २/२ विकेट लिए ।

प्रकाशित मिति: २५ माघ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्