पहिरोले खोटाङ अस्पताल जोखिममा


 


khotan-aspatalखोटाङ, भदौ २६

जिल्ला अस्पताल खोटाङमा नयाँ भवन निर्माणका लागि घडेरी सम्याउनेक्रममा पहिरो झरेपछि अस्पताल जोखिममा परेको छ । प्रशासन मुनिको भागमा घडेरी सम्याउँदा पहिरो झर्न थालेपछि अस्पताल प्रशासन, शव परीक्षण गृह सहित दुईवटा शौचालय भवन जोखिममा परेको हो ।

भवन निर्माण गर्न लागिएको ठाउँमा घडेरी सम्याउँदा पानी उब्जिएर पहिरो झर्न थालेपछि समस्या भएको ठेकेदार कुमार आचार्यले जानकारी दिए । स्काभेटर लगेर सम्याउन थाले लगत्तै माथिल्लो भाग बगेर लगातार पहिरो झरेपछि अहिले काम रोकिएको आचार्यको भनाई छ ।

पहिरोका कारण खर्च बढ्ने भएकाले सम्बन्धित कार्यालयले रकम थप गरिनुपर्ने ठेकेदार आचायको भनाइृ रहेको छ । पहिरो झर्नेक्रम नरोपछि जल उत्पन्न डिभिजन कार्यालयको सहयोगमा जाली हाल्ने काम गरेपनि नरोकिएपछि झनै समस्या भएको जनाइएको छ ।

पहिरोले अस्पताल प्रशासनको जगसमेत तानेर लगेपछि दैनिक कामकाजमा समस्या भएको जिल्ला जनस्वास्थ्य कार्यालय खोटाङका प्रमुख चिकित्सक रामबहादुर केसीले बताए । उनले भने, भबन बग्ने खतराभए पछि प्रशासन भबन तालिहलमा सारिएको छ ।

अस्पताल परिसर भित्र पहिरो झरेपछि सहायक प्रमुख जिल्ला अधिकारी दिनेश कुमालको रोहबरमा जिल्ला प्रहरी कार्यालयले सर्जमिन मुचुल्का तयार गरेको छ । दुई वर्षभित्र निर्माण सम्पन्न गरेर अस्पताललाई बुझाउनेगरि सम्झौता भएको भवन अढाइतले हुने सहरी विकास भवन डिभिजन शाखा कार्यालय खोटाङका प्रमुख इन्जिनियर भुपाल मगरले बताए ।

कार्यालय प्रयोजनका लागि बनाउन लागिएको भवन खानी निर्माण सेवा प्रा.लि.ले ठेक्का पारेको हो । सहरी विकास भवन डिभिजन कार्यालय उदयपुरको दुई करोड ३६ लाख रुपैयाँ लगानीमा भवन निर्माण गर्न लागिएको अस्पताल विकास समितिले जनाएको छ ।

वि.सं. २०४८ सालमा स्थापना भएको जिल्ला अस्पताल खोटाङमा हाल भवन अभाव हुँदा समस्या रहेको विकास समितिका अध्यक्ष नारायण जोशीले जानकारी दिए ।

प्रकाशित मिति: २६ भाद्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्