नन्दभाउजूको संरक्षकत्वमा राइनो संरक्षण गोल्डकप सुरु


 



नवलपुर, फागुन ५
मोफसलकै चर्चित राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको पाँचौ संस्करण आजबाट सुरु हुँदैछ। राईनो क्ल्बको आयोजना एवं नन्दभाउजु उपभोक्ता समितिको संरक्षणत्वमा पुर्वी नवलपरासीको मध्यविन्दु–२ स्थित राईनो मैदानमा सुरु हुँदैछ । प्रतियोगिताको उदघाटन खेलमा हिमालयन शेर्पा र बिरगंज युथ एकेडेमी खेल्नेछ ।

खेलमा विभागीय टिमहरु त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, आयोजक नवलपुर जिल्ला सहित ‘ए’ डिभिजनका फुटबल क्लबहरु गरी १२ टिमको सहभागिता रहने नन्दभाउजू उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले बताए।

विश्वकै दुर्लभ एकसिंगे गैडा संरक्षणका लागि सचेतना फैलाउने उद्देश्यले नवलपुरमा विगत १० बर्षदेखि आयोजना गरिदै आएको प्रतियोगिताको पाचौं संस्करणको उदघाटन मध्यविन्दु नगरपालिकाका नगरप्रमुख चन्द्रबहादुर रानाले गर्ने अध्यक्ष भण्डारीले बताए।

यस अघिका वर्षहरुमा नन्दभाउजु उपभोक्ता समितिको आयोजनामा हुँदै आएको प्रतियोगिता यस वर्ष देखि राईनो क्लबको आयोजना र नन्दभाउजु उपभोक्ता समितिको संरक्षकत्वमा हुन लागेको हो । प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले ५ लाख र शिल्ड तथा ट्रफी पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: ५ फाल्गुन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्