टेष्ट सिरिजमा न्यूजिल्याण्डले भारतलाई १० विकेटले हरायो


 


काठमाडौं, फागुन १२
न्यूजिल्याण्डसँगको टेष्ट सिरिजको पहिलो खेलमा भारत १० विकेटले पराजित भएको छ । टेस्टको चौथो दिन भारतले न्यूजिल्याण्डलाई दिएको ९ रनको लक्ष्य न्यूजिल्याण्डले कुनै विकेट नगुमाएर पूरा गर्‍यो ।

भारतले पहिलो इनिङ्समा १६५ र दोस्रो इनिङ्समा १९१ रन मात्र बनाउन सक्यो । दोस्रो इनिङ्समा भारतका लागि मयंक अग्रवालले ५८, आजिंक्य रहणेले २९, ऋषभ पन्तलदे २५, कप्तान विराट कोहलीले १९, हनुमा बिहारीले १५, पृथ्वी शाले १४, इशान्त शर्माले १२ र चेतेश्वर पुजाराले ११ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

बलिङमा न्यूजिल्याण्ड टीमका टिम साउथीले ५, ट्रेन्ट बोल्टले ४ र कोलिन डीग्रान्डहोमले एक विकेट लिए । पहिलो पारीमा न्यूजिल्याण्डले ३४८ रनको योगफल तयार गर्‍यो । उसका लागि कप्तान केन विलियम्सनले सर्वाधिक ८९ रनको योगदान दिए । बलिङमा भारतीय टीमका इशान्त शर्माले पाँच तथा रविचन्द्रन अश्विनले तीन र जसप्रित बुमराह र मोहम्मद शामीले एकएक विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्ता पाएको भारतले आफ्नो पहिलो पारीमा १६५ रनमा समेटिन पुगेको थियो । आजिक्य राहणेले बनाएको ४६ रन नै उसको पारीको सर्वाधिक ब्यक्तिगत योगफल रहन गयो । अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गरेनन् ।

बलिङमा न्यूजिल्याण्डका लागि कायल जमीन्सन र टीम साउदीले सामान चार–चार र ट्रेन्ट बोल्टले एक विकेट लिएका थिए । जितसँगै २ खेलको सिरिजमा न्यूजिल्याण्डले १–० को अग्रता बनाएको छ । सिरिजको अन्तिम तथा दोस्रो टेष्ट २९ फेब्रुअरीमा शुरु हुनेछ ।

प्रकाशित मिति: १२ फाल्गुन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्