दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई हरायो


 


काठमाडौं, फागुन १८
एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई हराएको छ । दक्षिण अफ्रिकाले पाहुना टोली अष्ट्रेलिया ७४ रनले पराजित गरेको हाे । दक्षिण अफ्रिकाले दिएको २ सय ९२ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको अष्ट्रेलिया ४५.१ ओभरमा सबै विकेट गुमाएर २ सय १७ रन मात्र बनाउन सक्यो ।

उसका लागि स्टिभ स्मिथले ७६, मार्नस लाबुशानेले ४१, डेविड वार्नरले २५, डार्सी सर्टले १८, मिचेल मार्शले १६ र कप्तान आरोन फिन्चले १० रन बनाए । अष्ट्रेलियाका बाँकी खेलाडीले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

बलिङमा दक्षिण अफ्रिकी टीमका लुंगि एन्गिडीले ३, अन्रिच नोर्त्जे, तबरेज शम्सीले २–२, केशव महाराज र एन्डिले फेहलक्वायोले एक–एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९१ रन बनायो ।

उसका लागि हेनरिक क्लासेनले शतकीय पारी खेले । उनले ११४ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै अविजित १२३ रन बनाए । एकदिवसीय क्रिकेटमा क्लासेनको यो पहिलो शतक हो । यसअघि वानडेमा उनको उच्च स्कोर ५९ रन थियो । अनुभवी ब्याट्सम्यान डेविड मिलर र क्लासेनबीच पाँचौ विकेटका लागि १४९ रनको साझेदारी बन्यो ।

अष्ट्रेलियाविरुद्ध पाँचौ विकेटका लागि दक्षिण अफ्रिकाले बनाएको यो अहिलेसम्मकै उच्च साझेदारी हो । मिलरले आज ६४, काइल भेरिनेले ४८, टेम्बा बवुमाले २६ र क्विटन डीककले १५ रनको योगदान दिए । बलिङमा अष्ट्रेलिया टीमका प्याट कमिन्सले ३, मिचेल स्टार्कले २ र जोश हेजलउडले एक विकेट लिए । यो जितसँगै तीन खेलको सिरिजमा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ ।

यी दुई टीमबीचको दोस्रो वानडे ४ मार्चमा हुनेछ । तीन खेलको टी–२० श्रृंखलापछि अष्ट्रेलिया र दक्षिण अफ्रिका एकदिवसीय सिरिज खेलिरहेका हुन् । दक्षिण अफ्रिकाको टी–२० सिरिज अष्ट्रेलियाले २–१ ले जितेको थियो ।

प्रकाशित मिति: १८ फाल्गुन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्