तरुण दलको सभापतिमा उत्तम चापागाॅइको उम्मेदवारी


 


received_932922343486184

काठमाडौं, भदौ २८

नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलको चौथो महाधिवेशनमा नजिकिदै जाँदा नेतृत्वको होडबाजी शुरु भएको छ । असोज ३, ४ र ५ गते पोखरामा हुन लागेको महाधिवेशनमा तरुण नेताहरुले नेतृत्वमा दावी गर्न थालेका छन् ।

दलको नेतृत्वमा पूर्वसचिव समेत रहेका उत्तमकुमार चापागाईँले नेतृत्वमा दावी गरेका छन् । उनी नेता कृष्ण सिटौलानिकट मानिन्छन् । ‘अहिले नेतृत्वमा दाबी गर्ने साथीहरुमा म पुरानो पनि हुँ र पूर्वसचिवका रुपमा काम गरिसकेको हुनाले मैले नेतृत्वमा दावी गरेको हुँ,’ चपागाईँले भने, ‘इमान्दारपूर्वक संगठन हाँक्न मेरो उम्मेद्वारी हो ।’

आफू नेतृत्वमा पुगेमा तरुण दललाई चुस्त ढंगले चलाउने चापागाईँ दावी गर्छन् । ‘मैले तरुण दल बुझेको छु र चुस्त ढंगले संगनलाई चलाउन सक्छु भन्ने हिसाबले नेतृत्वमा दावी गरेको हुँ र तयारी पनि गरिरहेको छु,’ उनी भन्छन्, ‘अहिले नयाँ युवा कार्यक्रममा माध्यमबाट स्वदेशमै आत्म निर्भर बनाउनका लागि दबाब दिने, युवाका हितमा नयाँ कार्यक्रम ल्याउने र बिपीको भावना अनुसार इमान्दारपूर्वक संगठन चलाउने मेरो उद्धेश्य हो ।’

चापागाईँसहित तरुण दलको नेतृत्वमा पदम पालुङ्गा, निरञ्जन केसी, दामोदर कोइराला, टेकराज पौडेल, रमेश पाण्डे र कर्ण मल्ल लगायतले दाबी गर्न थालेका छन् ।
पालुङ्गा र केसी सभापति शेरवहादुर देउवानिकट हुन् ।

त्यसैगरी कोइराला, पाण्डे र पौडेल रामचन्द्र पौडेलनिकट मानिन्छन् । मल्ल खुमबहादुर खड्कानिकट हुन् ।
पछिल्लो समय बीपी कोइरालाका नाति सिद्धार्थ कोइराला र गणेशमान सिंहका नाति प्रवासमान सिंह पनि तरुण दलको अध्यक्षमा भिड्ने चर्चा शुरु भएको छ । सिद्धार्थ सुनसरी र प्रवासमान काठमाडौंबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

प्रकाशित मिति: २८ भाद्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्