सडक बनाउँदै नेपाली सेना


 


sena-sadak-photoकाठमाडौं, भदाै २९
चीनको केरुङ नाका जोड्ने गल्छी– बेत्रावति–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकको थप १४ किलोमिटर खण्ड नेपाली सेनाले खन्ने भएको छ । यसअघि ४ किलोमिटर खण्ड सेनाको जिम्मामा खन्न थालेकोमा साढे ३ किलोमिटरमा कच्ची ट्रयाक खुलिसकेको छ । जुन सडक दुई लेनको छ ।

रसुवा जिल्लाको मैलुङ–स्याफ्रुबेसी सडक खण्डको ४ किलोमिटर सेनालाई जिम्मा दिएकोमा साढे ३ किलोमिटरमा कच्ची ट्याक खुलेको हो । ‘अब ५ सय मिटरमा मात्र कच्ची ट्याक खन्न बाँकी छ ।’ सैनिक सहायक प्रवक्ता महासेनानी रामनाथ शर्मा ढुंगानाले भने । महासेनानी ढुंगानाका अनुसार सरकारले सेनालाई त्रिशुली नदीको बाँया कीनाराहुँदै स्याफ्रुबेसी– मैलुङ खण्डको थप १४ किलोमिटर सडक निर्माणको जिम्मा पनि दिएको छ ।

थप १४ किलोमिटर सडक नेपाली सेनाले २ वर्षभित्र निर्माण पूरा गर्नेछ । जसका लागि ३५ करोड रुपैयाँ सरकारले उपलब्ध गराउने प्रतिवद्धता जनाएको सहायक प्रवक्ता महासेनानी ढुंगानाले जानकारी दिए ।

धादिङको गल्छीदेखि मैलुङसम्म दुई लेनको सडकको स्तरोन्नती र थप निर्माण सडक बिभागले गर्नेछ । यसको लम्बाइ ४५ किलोमिटर छ । स्याफ्रुबेसीबाट रसुवागढी खण्ड चिनियाँ कम्पनीले गर्ने तयारी छ । यो एक लेनको सडक हो । यसको दुरी १६ किमी छ ।

गल्छी–बेत्रावति–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकको कूल लम्बाई ८१ किलोमिटर छ । दुई वर्षभित्र यो सडकको निर्माण पूरा गर्ने तयारी छ ।  सेनाले जिम्मा पाएको सडक खण्डमा ३ स्थानमा क्याम्प खडा गरेर निर्माण थालेको छ ।

स्याफ्रुबेसी, सोले र त्रिशुली भोटेकोशी संगममा क्याम्प खडा गरेर निर्माण भइरहेको छ । आगामी तिहारपछि मैलुङ र मैलुङको ३ किलोमिटर स्याफ्रुतर्फ क्याम्प राख्ने तयारी छ ।

सडक निर्माणमा हाल सेनाको १ सय ७० र अन्य कामदार करिव २ सय दैनिक खटिएको सेनाको बिकास निर्माण निर्देशनालयका सेनानी सञ्जय केसीले जानकारी दिए । यो सडक समयमै निर्माण पूरा गर्न सडक बिभागले वातावरणीय प्रभाव मूल्याङ्कन गर्न बाँकी छ । त्यो मूल्याङ्कन फास्ट ट्याकबाट भए सेनाले पाएको जिम्मेवारी समयमै पूरा गर्ने सैनिक अधिकारीहरु बताउँछन् ।

उता नेपाली सेनाले डोल्पाको सदरमुकाम दुनै जोड्ने सडक पनि निर्माण गरिरहेको छ । जिल्ला सदरमुकाम नजोडिएका जिल्लामा सडकको जालोले जोड्न बिकल्पका रुपमा सरकारले नेपाली सेनालाई जिम्मा दिँदै आएको छ ।

(साथमा फोटा पनि छ ।
स्याफ्रुबेसी– मैलुङ खण्डमा सडक निर्माणमा जुटेका नेपाली सेनादेखि अन्य कामदार । फायल तस्विर)

प्रकाशित मिति: २९ भाद्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्