नेयमार बेच्ने पिएसजीको घोषणा


 


पेरिस, चैत ३ एजेन्सी

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजी आफ्ना ब्राजिली स्टार नेयमारलाई बेच्न तयार भएको छ ।

पीएसजीले गत समरमा तोकेको मुल्यमा ५१ मिलियन पाउन्ड कममा नेयमारलाई बेच्न तयार भएको विभिन्न सञ्चार माध्यमहरुमा उल्लेख छ ।

यससँगै नेयमारको मुल्य १३५ मिलियन पाउन्ड हुनेछ । गत समरमा नेयमारको मुल्य १८६ मिलियन तोकिएको थियो । गत समरमा नेयमारलाई फर्काउन स्पेनिस क्लब बार्सिलोनाले प्रयास गरेपनि अन्तिम समयमा मुल्यमा छिनोफानो नहुदा नेयमार पीएसजीमै रहन बाध्य बनेको थियो । पीएसजीका स्पोर्टिङ डाइरेक्टर लियोनाद्रो अराउजोले नेयमार बेच्न तयार रहेको उल्लेख गरेका छन् ।

नेयमारको मुल्यमा गिरावट आएसँगै उनलाई पुर्व क्लब बार्सिलोनाले पुनः अनुबन्ध गर्न सक्ने बुझिएको छ । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्टमेउ र कप्तान लियोनेल मेस्सीले गत समरमा नेयमारलाई अनुबन्ध गर्न ठुलो प्रयास गरेपनि सफलहुन सकेको थिएन । यसपटक पीएसजीले नै छाड्ने बताइसकेपछि आउदो समरमा नेयमार पुनः स्पेनमा फर्कन सक्नेछ ।

नेयमार २०१७ मा २२२ मिलियन पाउन्डमा बार्सिलोनाबाट पीएसजी पुगेका थिए । पहिलो सिजन पीएसजीमा खुशी रहेको नेयमार त्यसपछि भने पीएसजीमा खुशी रहन सकेको थिएन । लियोनार्दोका अनुसार पीएजसी नेयमारलाई बेच्दै अर्का युवा स्टार केलियन एमबाप्पेलाई क्लबमै राख्ने मनासयमा रहनेछ । २८ वर्षीय नेयमारले पीएसजीमा तीन सिजन ८० खेल खेल्दै ६९ गोल गर्नुका साथै ३९ असिस्ट दिएका छन् ।

प्रकाशित मिति: ३ चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्