काेराेनाकाे सन्त्रास: यी हुन् कोरोना संक्रमित सेलिब्रिटी


 


काठमाडाैँ, चैत्र १५
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले अहिले संसार आतंकित छ । यसको संक्रमणबाट शुक्रबारसम्म विश्वका झन्डै २५ हजारले ज्यान गुमाइसकेका छन् भने साढे पाँच लाख हाराहारी संक्रमित छन् । सर्वसाधारणका अलावा विश्व मनोरञ्जन बजारका सेलिब्रिटी पनि यसको चपेटामा परेका छन् ।

विश्वकै ठुलो मनोरञ्जन उद्योग मानिएको हलिउडका दर्जन सेलिब्रिटी कोरोना भाइरसको संक्रमणमा छन् भने बलिउडका दुई सेलिब्रिटी यो भाइरसको संक्रमणका कारण आइसोलेसनमा छन् । यस्तै फ्रान्स, इटालीलगायत देशका केही कलाकारमा पनि यो भाइरसको संक्रमण देखिएको छ । संक्रमित सबैलाई आइसोलेसनमा राखिएको छ ।

नेपालमा अहिलेसम्म तीनजनामा यसको संक्रमण देखिए पनि मनोरञ्जन उद्योगी भने सुरक्षित छन् । कोरोना संक्रमणका कारण नेपाल एक साताका लागि लकडाउन गरिएपछि सर्वसाधारणका साथै सेलिब्रिटी सेल्फ क्वारेन्टाइनमा घरमै समय कटाइरहेका छन् । उनीहरूले सोसल मिडिया र सञ्चार माध्यममार्फत् आफ्ना फ्यानलाई संक्रमणबाट सुरक्षित रहने उपाय सिकाइरहेका छन् । मनोरञ्जन उद्योग ठप्प छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि देशका नाममा सम्बोधन गर्दै २१ दिनका लागि लकडाउन घोषणा गरेपछि बलिउड ठप्प छ । सबै सेलिब्रिटी घरमै बन्द छन् । उनीहरू घरमै बसेर कोरोनाबाट बँच्ने उपाय सुझाइरहेका छन् । सबैभन्दा बढी प्रभावित अमेरिकाले भने अहिलेसम्म देश लकडाउन गरेको छैन । लकडाउन नगरे पनि हलिउडका सबै गतिविधि रोकिएका छन् । हलिउड अभिनेता टम ह्याक्स कोरोनाबाट संक्रमित हुने पहिलो सेलिब्रिटी हुन् । उनले ११ मार्चमा सोसल मिडियामार्फत आफू कोरोना पीडित भएको जानकारी गराएका थिए ।

हालै हलिउडका टीभी सो होस्ट एन्डी कोहेनलाई कोभिड १९ बाट संक्रमित भएको पाइएको छ । भारतवंशी अभिनेत्री इन्दिरा बर्मा पनि कोरोनाबाट ग्रस्त छिन् । इन्दिरा बिरामी हुनुभन्दा पहिला एमिलिया क्लार्कसँग काम गरिरहेकी थिइन् । इन्दिराले कोरोना पीडित भएको जानकारी इन्स्टाग्रामबाट दिएकी हुन् ।

अमेरिकन रेडियो र टीभी होस्ट एन्डीले इन्स्टाग्राममा भिडियो सेयर गरेर आफू पीडित भएको जानकारी गराए । अभिनेता भीओ आर्टिस्ट र निर्माता डेनियल डे किमले इन्स्टाग्राममा भिडियो सेयर गरेर आफू कोरोना संक्रमित भएको जानकारी गराएका छन् ।

अमेरिकन गायक सार्लेट लरेन्सले इन्स्टाग्राममा कोरोना पोजेटिभ भएको जानकारी दिएका थिए । ‘ह्यापी डेथ डे’ र ‘ह्यापी डेथ डे टु यु’ की अभिनेत्री २६ वर्षकी रसेल म्याथ्युजमा संक्रमण देखिएको छ । क्रिस्टोफर हिब्जुले इन्स्टाग्राममा तस्बिर पोस्ट गर्दै कोरोना संक्रमणको जानकारी दिएका छन्् । अभिनेता तथा निर्देशक इदरिस अकुना एल्बादले भिडियो म्यासेज सेयर गरेर आफू बिरामी परेको जानकारी दिए ।

यसैगरी ४० वर्षीया फ्रेन्च अभिनेत्री ओल्गा कुरेलिन्कोले इन्स्टाग्राममा क्वारेन्टाइनको फोटो सेयर गरेर बिरामी भएको बताएकी छन् । अभिनेत्री, निर्माता तथा गायिका रिटा विल्सन पनि कोरोनाको चपेटामा छिन् ।

यता बलिउडकी चर्चित गायिका कनिका कपुरलाई कोरोना भाइरसले समातेको छ । उनी मार्च १५ मा लन्डनबाट मुम्बई फर्केकी थिइन् ।

रिपोर्टअनुसार कनिकाले एअरपोर्टमा जाँच गराएकी थिइनन् । वासरुममा लुकेर उनी एयरपोर्टबाट बाहिर निस्केकी थिइन् । कोरोना फैलाएको आरोपमा उनलाई मुद्दासमेत चलाइएको छ । उनको तेस्रो रिपोर्ट पनि नकारात्मक आएको छ । लन्डनबाट फर्केर उनले एक पार्टी दिएकी थिइन् जसमा धेरै सरकारी अफिसर र नेता पनि सामेल थिए । उक्त पार्टीमा सामेल हुनेहरू कनिकामा कोरोना पोजेटिभ देखिएपछि त्रसित छन् । कनिकाले बेबी डाल, जुगनी, चिट्टियाँ कलाइयाँ र देशी लुकजस्ता हिट गाएकी छन् ।

यसैगरी बलिउडका ९७ वर्षीय अभिनेता दिलीप कुमार कोरोना संक्रमणका कारण आइसोलेसनमा छन् । उनकी पत्नी सायरा बानो दिलीपको हेरचार गरिरहेकी छिन् ।

यसैगरी चिलीका ‘बेस्ट सेलिङ’ लेखक लुई सेपुलभेदालाई पनि संक्रमण भएको छ । उनी उत्तरी स्पेनमा बस्छन् । पोर्चुगलमा आयोजना गरिएको साहित्य महोत्सवमा सहभागी भएर फर्किएपछि उनमा संक्रमणको लक्षण देखा परेको थियो ।

यसैबीच बलिउड मेगास्टार अमिताभ बच्चनले कोरोना भाइरसबाट बच्ने उपाय सुझाएका छन् । बच्चनले सामाजिक सञ्जाल ट्विटरमा एक भिडियो सेयर गर्दै कोरोनाबाट बच्ने उपायबारे आफैंले लेखेको कविता सुनाए । उनको कविताले कोरोनाबाट बच्न नियमित हात धुने र धेरै भीडमा नजान सरकारले दिएको सल्लाह मान्न सुझाएको छ ।

‘उनीहरूले (अधिकारीहरू) हामीलाई घरमा बस्न र साबुनपानीले हात नधोई एकअर्कासँग हात नमिलाउन आग्रह गरेका छन् । हो, हामी तपाईंले भनेको मान्छौंं’, उनले भने ।

यसका साथै बलिउडका बिग बी बच्चनले युनिसेफ र भारत सरकारका लागि कोरोना भाइरसमा सन्देश रेकर्ड गर्न तयारी गरेको एउटा फोटो पनि पोस्ट गरेका छन् । दुई सयभन्दा बढी चलचित्रमा काम गरिसकेका उनी अभिनय सँगसँगै जनचेतनामूलक कार्यक्रममा पनि उत्तिकै सक्रिय छन् ।

कलिउडका कलाकारले पनि गीतसंगीत र अभिनयका माध्यमबाट सचेतना फैलाउने काम गरिरहेका छन् । रेखा थापा, करिश्मा मानन्धर, राजेश हमाल, दीपा श्री निरौला, जितु नेपाल, सन्तोष पन्त, मह, राजेश हमाललगायतले आफ्ना फ्यानलाई सचेत गराइरहेका छन् ।

अमेरिकी अभिनेता टम ह्यांकस, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र आर्सनल फुटबल क्लबका कोच मिकेल आर्टेटा कोरोना भाइरस संक्रमित धनी र प्रख्यात व्यक्ति हुन् । एजेन्सीको सहयोगमा

प्रकाशित मिति: १५ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्