विवादपछि ‘मास्टर्नी’को प्रमोसन गीत युट्युबबाट हटाइयो, दुर्गेश र प्रियंकाद्वारा क्षमायाचना



काठमाडौं । गायक तथा अभिनेता दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्की अभिनीत चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीत ‘ताराबाजी लैलै’ विवादमा परेपछि युट्युबबाट हटाइएको छ।

गीत सार्वजनिक भएलगत्तै शिक्षक समुदायबाट चर्को विरोध भएको थियो। गीतमा प्रयोग भएका शब्द र प्रस्तुतीकरणले शिक्षक, विशेषगरी महिला शिक्षक तथा समग्र शिक्षण पेसाको गरिमामा आँच पुर्‍याएको भन्दै विभिन्न पक्षले आपत्ति जनाएका थिए।

नेपाल शिक्षक महासंघ र नेपाल राहत शिक्षक राष्ट्रिय समितिले समेत विज्ञप्ति जारी गर्दै गीतले शिक्षक र शिक्षण पेसाको सम्मानमा गम्भीर चोट पुर्‍याएको भन्दै विरोध जनाएका थिए।

विवाद बढ्दै गएपछि दुर्गेश थापा र प्रियंका कार्कीले सामाजिक सञ्जालमार्फत छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै क्षमायाचना गरेका छन्।

प्रियंका कार्कीले कला र मनोरञ्जन प्रस्तुत गर्ने क्रममा समाजको सम्मानित पेसामाथि नकारात्मक असर पार्ने कुनै उद्देश्य नरहेको बताइन्। तर प्रस्तुतीकरणका कारण शिक्षक समुदायको भावनामा चोट पुगेको स्वीकार गर्दै आफू र आफ्नो टिमका तर्फबाट क्षमा मागिन्।

विरोध र गुनासो बढेपछि सम्बन्धित पक्षले गीत युट्युबबाट हटाइएको जनाएको छ। विवादित सामग्रीप्रति संवेदनशील रहँदै आगामी दिनमा यस्ता विषयमा थप सचेत हुने प्रतिबद्धता पनि कलाकारहरूले व्यक्त गरेका छन्।

प्रकाशित मिति: १ श्रावण २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्