हवाइ इन्धननकाे मूल्य घट्याे, भाडा के हुन्छ ?


 


काठमाडाैं, भदाै ३१

नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएको छ । दशैं तिहारको अवसर पारेर निगमले हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो । अहिले अन्य इन्धनको मूल्य भने नघटाइएको आयल निगमका प्रवक्ता भानुभक्त खनालले बताए ।

अब आन्तरिकतर्फ हवाइ इन्धनको मूल्य प्रतिलिटर ९४ रुपैयाँमा झरेको छ । यसअघि हवाइ इन्धनको मूल्य लिटरको ९९ रुपैयाँ थियो ।

यसैगरी अन्तर्राष्ट्रिय उडानमा पनि प्रतिहजार लिटर ५० डलर घटाइएको छ । यसअघि प्रतिहजार लिटर ८ सय ८१ रहेको इन्धनको मूल्य अब ८ सय ३१ भएको निगमका प्रवक्ता खनालले बताए । अब आन्तरिक उडान भर्ने वायुसेवाले भाडा घटाउने सरकारको अपेक्षा छ ।

आयल निगमले हवाइ इन्धनको मूल्य घटाए पनि दशैंको अवसरमा डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घटाएन । निगमलाई अहिले पेट्रोलमा लिटरको ५ रुपैयाँ नाफा छ भने डिजेलमा प्रतिलिटर १ रुपैयाँ तथा मट्टितेलमा १८ रुपैयाँ फाइदा छ ।

आपूर्तिमन्त्री दीपक बोहोराले दशैंमा इन्धनको मूल्य घटाउने बताएका थिए । निगमले दशैंका लागि यसअघि नै ग्यासको मूल्य भने प्रतिसिलिन्डर ५० रुपैयाँ घटाएको थियो ।

प्रकाशित मिति: ३१ भाद्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्