लकडाउनले कुखुरा व्यवसाय धरापमा


 


हेटौंडा, चैत १७
कोरोना भाइरस नियन्त्रण गर्न घोषणा गरेको लकडाउनले मकवानपुरका कुखुरा व्यवसाय समस्यामा परेका छन् ।

कुखुरा पाल्ने तथा त्यसको फार्म चलाएर जीवनयापन चलाउने र व्यवसाय गर्ने कुखुरा व्यवसाय र किसान लकडाउनका कारण समस्यामा परेको गुनासो पाइएको छ । विभिन्न फार्ममा व्यवसायका लागि पालिएको कुखुरा बिक्री नहुने तथा बजारसम्म ढुवानी नहुँदा व्यवसायी चिन्तित छन् । साथै कुखुराको दाना, प्राविधिक तथा आवश्यक औषधिलगायत समस्याले व्यवसाय नै चौपट हुनेस्थित आएको हेटौँडा–१३ का कुखुरा व्यवसायी उर्मिला मगरले बताउनुभयो ।

त्यस्तै बैंक तथा सहकारीबाट ऋण लिएर गरिरहेको कुखुरा व्यवसायबाट लगानीअनुसारको आम्दानी नहुँदा ब्याजसमेत तिर्न धौधौ परेको उहाँको भनाइ छ । कुखुरा व्यवसायमा समस्या परेपछि कुखुरा व्यवसाय सङ्घ मकवानपुरले प्रतिकेजी रु ५५ नोक्सानी व्यहोर्दै प्रतिकेजी जिउँदो कुखुराको मूल्य रु १२५ तोकिएको छ ।
सङ्घका अध्यक्ष राजु अधिकारीका अनुसार एक केजी कुखुरा तयार गर्न रु १८० खर्च लाग्ने गरेको छ । तर बिक्री वितरणको कमीले सङ्घले जिउँदो कुखुराको मूल्य घटाएको जनाएको छ ।

उता जिउँदो कुखुराको मूल्य घटिरहेका बेला बजार उपभोक्ता मूल्य प्रतिकेजी कुखुराको मासु रु २५० कायम गरी बिक्री वितरण भइरहेको जितपुर मिटसपका सञ्चालक नसरुदिन मियाँले भन्नुभयो । पसल बिहान र साँझ खुल्ने कारणले व्यवसायमा समेत समस्या परेको उहाँको भनाइ छ ।

प्रकाशित मिति: १७ चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्