कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते हुने



काठमाडौं। कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको सूचनामा दुई दिन पूरक परीक्षा हुने जनाइएको छ ।

बोर्डले आज सार्वजनिक गरेको नतिजामा १ लाख ४७१ जना विद्यार्थीहरुको ननग्रेड आएको छ ।

नियमितमा ३ लाख ३२ हजार २४१ जना परीक्षामा सहभागी भएका थिए । जसमा २ लाख ३१ हजार ७७० जनाको ग्रेड आएको छ ।

यसैगरी आंशिकतर्फ पनि परीक्षामा सहभागी भएका ८५ हजार ९२९ जना विद्यार्थीमध्ये ३६ हजार ४२० जनाको मात्रै ग्रेडे आएको छ ।

नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी ग्रेडेड र आंशिकतर्फ ४२.३८ प्रतिशत ग्रेडेड भएका छन् ।नियमित र आंशिक जोड्दा भने ग्रेडेड प्रतिशत ६४.१३ प्रतिशत हुन्छ ।

२०८३ वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा नियमति र आंशिक गरी ४ लाख १८ हजार १७० जना विद्यार्थीले परीक्षा दिएका थिए ।

नियमिततर्फ ३० र आंशिकतर्फ १० गरी ४० जनाको परीक्षा रद्द गरिएको छ ।

नियमित परीक्षार्थीका रूपमा सहभागी भई सैद्धान्तिकतर्फ अन्य सबै विषयमा ‘डी’ वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा नन् ग्रेडेड प्राप्त गर्ने वा बढीमा दुई विषयमा अनुपस्थित रहेका परीक्षार्थी पूरक परीक्षामा सहभागी हुन पाउने छन् ।

परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।

प्रकाशित मिति: ५ असार २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्