इटाली र स्पेनमा एकैदिन १६ सय बढीको मृत्यु, १२ हजार संक्रमित थपिए


 


एजेन्सी, चैत्र २०
युरोपका इटाली र स्पेनमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तथा मृत्युदर तिव्र गतिमा बढिरहेको छ । ती दुई देशमा पछिल्लो २४ घण्टामा मात्रै १२ हजार बढी संक्रमित थपिँदा १६ सय व्यक्तिले ज्यान गुमाएका छन् ।

स्पेनमा पछिल्लो एक दिनमा ८ हजार बढी संक्रमित थपिएका छन् । योसँगै त्यहाँ कोरोनाबाट मर्नेको संख्या १ लाख ४ हजार नाघेको छ । स्पेन सर्बाधिक कोरोना संक्रमितको सूचीमा तेस्रो स्थानमा छ । त्यहाँ यसबाट मृत्यु हुनेको संख्या ९ हजार नाघिसकेको छ ।

बुधबार मात्रै स्पेनमा ९२३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाए । यो भाइरसका कारण धेरै मृत्यु हुनेको सूचीमा इटाली पछि स्पेन रहेको छ । यस्तै, कोरोना महामारीले तनावमा रहेको इटालीमा संक्रमितको संख्या १ लाख १० हजार नाघेको छ । त्यहाँ बुधबार मात्रै ४ हजार ७ सय नयाँ संक्रमित थपिए । इटालीमा मृतकको संख्या १३ हजार नाघेको छ । बुधबार मात्रै त्यहाँ ७ सय २७ व्यक्तिको ज्यान गयो ।

गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोनाबाट विश्वभर २०३ देश प्रभावित भइसकेका छन् । यो भाइरसका कारण ९ लाख ३५ हजार संक्रमित हुँदा ४७ हजार बढीले ज्यान गुमाइसकेका छन् । यस्तै, १ लाख ९३ हजार व्यक्ति भने कोरोनाबाट निको भएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: २० चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्