जलविद्युत आयोजनामा लकडाउनको धक्का


 


काठमाडौं, चैत २२

चालु आर्थिक वर्षको अन्त्यसम्म निर्माण सम्पन्न भर्इ सञ्चालनमा आउने तयारीमा रहेका आयोजनाहरुले काम गर्न नपाए निर्माण अवधि कम्तिमा ८– ९ महिना पर धकेलिने भएको छ।

असारसम्म विद्युत उत्पादन गर्ने लक्ष्यसहित निर्माण भइरहेका माथिल्लो तामाकोशीदेखि निजी क्षेत्रका दोर्दी, सिंगटी र गेलुन खोला लगायतका आयोजनाको निर्माण करिब एक वर्षै पर धकेलिन सक्ने प्रवर्द्धकहरुले बताएका छन्।

२०७७ असारसम्म सञ्चालनमा ल्याउने तयारीसहित धमाधम निर्माण भइरहेका आयोजनाहरुमा चैत पहिलो हप्तादेखि कोरोना त्रासका कारण काम रोकिएका छन्। काम रोकिएसँगै आयोजनाको निर्माण सम्पन्न मिति पर धकेलिने भएको हो।

अहिले कोरोना भाइरस नियन्त्रणमा आइनसकेको अवस्थामा थप कहिलेसम्म देश लकडाउन हुन्छ भन्ने कुराले नै आयोजना कहिले सञ्चालनमा आउँछन् भन्ने टुंगो लाग्नेछ। बैशाख १ देखि काम गर्न पाएमा पनि यी आयोजना असारभित्र सञ्चालनमा ल्याउन सकिने प्रवर्द्धकहरुले दाबी गरेका छन्।

४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा पनि यतिबेला काम रोकिएको छ। सरकारले सुरक्षित भएर काम सुरु गर्न भनेपछि आयोजनाका उच्च अधिकारीहरु स्थानीय जनप्रतिनिधिहरुसँग काम सुरु गर्न पहल गरिरहेका छन्।

तर स्थानीय कामदार घर गइसकेको र आयोजनास्थलमा यतिबेला अधिकांश भारतीय कामदारहरु मात्रै बाँकी छन्। उनीहरु पनि लकडाउन खुल्नेबित्तिकै घर जाने मनस्थितिमा रहेका कारण पहिलेकै गतिमा काम गर्न नसकिने अवस्थाले चिन्ता रहेको माथिल्लो तामाकोशी आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए।

निर्माण गरिएको बाँध परीक्षण गर्नको लागि आयोजनाको जलाशय भरिएको थियो। काम रोकिएपछि परीक्षण गर्न नपाउँदा अहिले जलाशयबाट पानीको निकास खोलिएको छ। जलाशय र विद्युतगृहको लगभग सबै काम सकिएपनि पेनस्टक पाइप जडान र कंक्रिटिङको काम मात्रै बाँकी रहेका बेला कोरोनाका कारण काममा अवरोध भएपछि आयोजना कति महिना पर धकेलिन्छ भन्ने कसैले पनि अनुमान गर्न नसकेको न्यौपानेले बताए।

बैशाखभित्रै सत्र्चालनमा ल्याउने तयारीसहित काम गरिरहेको २५ मेगावाटको अपर दोर्दी ए जलविद्युत आयोजनाको काम पनि पर धकेलिएको छ।

कुनै पनि हालतमा बैशाख(जेठभित्र आयोजना सञ्चालनमा ल्याउने लक्ष्यसहित २०० जनाभन्दा बढी कामदारलाई कम्पनीले क्याम्पमा राखेको थियो। स्थानीयले काम गर्न नदिएपछि आयोजनाको काम अघि बढाउन नसकेको आयोजनाले जनाएको छ।

ुक्याम्पदेखि काम गर्ने साइटसम्म कामदार लैजान पनि स्थानीयले अवरोध गरेका छन्,ु दोर्दीका एक सञ्चालकले बिजमाण्डूसँग भने, ुसरकारले काम गर्ने वातावरण सिर्जना गरिदिएन भने असारमा सञ्चालनमा आउने आयोजना २०७७ पुसभन्दा अघि पूरा गर्न सकिन्न। त्यसैले सरकारले निर्माणको अन्तिम चरणमा रहेका यस्ता आयोजनालाई काम गर्ने वातावरण मिलाइदिनुपर्छ।ु

असारसम्म निर्माण गर्न नसके वर्षायाम सुरु हुने र वर्षा सकिनेबित्तिकै दशैं(तिहार आइहाल्ने भएकाले काम सुरु गर्नलाई मंसिर नै कुर्नु पर्छ। यस्तो अवस्थामा एक महिनामा सकिने काम पनि ८र९ महिना पर जान सक्छ। त्यसैले सरकारले काम गर्ने वातावरण मिलाइदिन आयोजनाका प्रवर्द्धकले आग्रह गरेका छन्।

२०७७ जेठभित्र निर्माण सक्ने लक्ष्यसहित धमाधम काम गरिरहेको २५ मेगावाटकै सिंगटी जलविद्युत आयोजनाको काम पनि पर धकेलिएको छ।

कोरोना त्रासका कारण स्थानीयले काम गर्न नदिएपछि आयोजनाको निर्माण कम्तिमा ८र९ महिना पर धकेलिने स्थिति रहेको दोलखास्थित सिंगटी हाइड्रोपावर कम्पनीका निर्देशक गणेश कार्कीले बताए।

ुमुख्य मुख्य काम सकेर फिनिसिङको चरणमा थियौं। जनवरीमा नयाँ वर्ष मनाउन गएका चाइनिज कामदार नफर्किदा काममा असर परिसकेको थियो,ु उनले भने, ुअहिले नेपालमा पनि लकडाउन भएपछि भएका कामदारबाट पनि काम लिन सकिएको छैन। असारभन्दा अघि नै काम गर्न सकिएन भने वर्षा सुरु हुन्छ, र त्यसले आयोजना सम्पन्न गर्न कम्तिमा मंसिर(पुस कुर्नुपर्ने हुन्छ। ु

सरकारले निर्माण सम्पन्नताको नजिक पुगेका यस्ता आयोजनाको काम सुरु गराउन पहल नगरे बैंक ब्याजका कारण लागत अस्वभाविक रुपमा बढेर आयोजनाले धान्नै नसक्ने अवस्था आउन सक्नेमा कार्कीले चिन्ता व्यक्त गरे।

यस्तै सिन्धुपाल्चोकमा निर्माणको अन्तिम चरणमा रहेको गेलुन खोला जलविद्युत पनि लकडाउनको मारमा परेको अर्को आयोजना हो। ३।२ मेगावाट क्षमताको उक्त आयोजना असारभित्र सम्पन्न नगरे उठ्नै नसक्ने भएकाले काम गर्ने वातावरण मिलाई दिन प्रवर्द्धकले सरकारसँग आग्रह गरेका छन्।

बैंकको ब्याज तिर्न अहिले नै समस्यामा परेर बैंकले आयोजनालाई ब्याज तिर्न आउने ३५ दिने सूचना प्रकाशित गरिसकेका छन्। यस्तो अवस्थामा आयोजनाको काम हुन नसके आयोजनालाई बचाउन नसकिने प्रवर्द्धकले चिन्ता व्यक्त गरेका छन्।

प्रकाशित मिति: २२ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्