गायिका कनिकाविरुद्ध कोरोना फैलाएको मुद्दा


 


मुम्बई, चैत्र २६
बलिउडकी चर्चित गायिका कनिका कपुर आफ्नो कोरोना संक्रमण (कोभिड १९)को उपचारपछि अस्पतालबाट सोमबार घर फर्किएकी छन् । लन्डनबाट ९ मार्चमा भारत आएकी कनिकालाई २० मार्चमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि आफ्नो गृहनगर लखनउको पीजीआई अस्पतालमा उनले कोरोना संक्रमणको उपचार गराएकी हुन् । उनी अस्पताल भर्ना भएको १४ दिनपछि घर फर्किएकी छन् । उनको कोरोनासन्धी पछिल्लो दुईवटा परीक्षण नेगेटिभ आएपछि अस्पतालले उनलाई घर पठाएको हो ।

यी गायिकाले अस्पतालबाट छुट्न नपाउँदै अदालतको समस्या भोग्नुपरेको छ । यी गायिकाविरुद्ध सार्वजनिक रूपमा कोरोना भाइरस फैल्याएको भन्दै अदालतमा मुद्दा परेको छ । आफूलाई कोरोना संक्रमण हुँदा पनि विदेशबाट आएको बेला होम क्वारेन्टाइनमा बस्नुको सट्टा कन्सर्ट गरेर रोग फैल्याएको आरोप उनीमाथि छ ।

अदालतले यी गायिकालाई हाजिर हुनलाई पुर्जीसमेत काटिसकेको अवस्था छ । त्यसैले कोरोनाको तनाव मुक्त नहुँदै फेरि अदालतको चक्कर काट्नुपर्ने तनावले गायिका कनिका अहिले तनावमा छिन् । गायिका कनिकालाई अबको १४ दिनपछि अदालतमा हाजिर हुनुपर्ने पुर्जी आइसकेको छ । योबीचमा उनीसँग हेलमेल भएका ६ सय जनाभन्दा बढी सेल्फ क्वारेन्टाइनमा बस्नुपरेको थियो । जसमा पूर्वमन्त्री, सांसद, कलाकारदेखि उनका प्रशंसकसम्म थिए ।

प्रकाशित मिति: २६ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्