भाषा समस्या समाधान गर्न प्रज्ञा–प्रतिष्ठान तयार


 


काठमाडौँ, असाेज २

नेपाली वर्ण विन्यास विवादको बारेमा नेपाल प्रज्ञा–प्रतिष्ठानले समस्या समाधानका लागि तयार रहेकाे जनाएकाे छ । प्रतिष्ठानले एक विज्ञप्ती जारी गर्दे समस्या समाधान गर्न तयार रहेकाे जनाएकाे हाे ।

 विज्ञप्ती

‘नेपाली वर्ण विन्यासमा क्रमिक सुधार हुँदै वर्तमान अवस्थामा आइ पुगिएको कुरा सर्वविदित छ । वि.सं. २०३० को दशकदेखि त्रिभुवन विश्व विद्यालय लगायतका शैक्षिक संस्थाहरूले पछिल्लो चरणको सुधार अगि बढाएको र वि.सं. २०४० मा नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित ‘नेपाली बृहत् शब्दकोश’ले त्यसलाई ग्रहण गरी आवश्यक सुधार भएको कुरा पनि सबैलाई अवगत नै छ । यही परम्परामा वि.सं. २०५७ र २०६७ मा नेपाल प्रज्ञा–प्रतिष्ठानमा भाषिक सङ्गोष्ठीहरू सम्पन्न भई बृहत् छलफलपछि निस्केका निष्कर्षहरूका साथै त्रिभुवन विश्व विद्यालय अनिवार्य नेपाली विषय समितिको सहमतिमा पाठ्यक्रम विकास केन्द्रबाट प्रस्तुत भएको सहमति र नेपाल प्रज्ञा–प्रतिष्ठानबाट दिइएको सुझाव समेतका आधारमा शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले वि.सं. २०६९।४।२३ को मन्त्री स्तरीय निर्णय अनुसार लागु गरेको वर्ण विन्यास हाल प्रचलनमा रहेको ।’ बताएको छ ।

प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘नेपाल प्रज्ञा–प्रतिष्ठानबाट वि.सं.२०७२ मा प्रकाशित ‘नेपाली बृहत् शब्दकोश’ को संशोधित नवौँ संस्करणको वर्ण विन्यास पनि यिनैमा आधारित छ । नेपाली वर्ण विन्यासका सम्बन्धमा प्राज्ञिक बहसका निष्कर्ष र प्राज्ञिक शैक्षिक संस्थाहरूको राय सुझाबका आधारमा लागु गरिएको वर्ण विन्यासलाई नेपाल प्रज्ञा–प्रतिष्ठानले अँगालेको हो । त्यसमा नेपाली स्वर व्यञ्जनहरू घटाइयो, सबै संयुक्त व्यञ्जनका हलन्त वर्णहरू खुट्टा काटेर लेखियो भन्ने खालका अनर्गल प्रचारहरूमा कुनै सत्यता छैन ।’

प्रतिष्ठानले ‘मूल प्रविष्टि पूर्ववत् राख्तै ‘विद्या’को लेखन उच्चारणमा ‘विध्या’ नहोओस् भनेर वैकल्पिक रूपमा ‘विद्या’, ‘विद्वान्’ को लेखन उच्चारणमा ‘विद्धान्’ नहोओस् भनेर वैकल्पिक रूपमा ‘विद्वान्’, ‘शत्ति’ नहोओस् भनेर ‘शक्ति’ जस्ता केही प्रयोग स्पष्टताका लागि गरिनु बाहेक कुनै अन्यथा नगरिएको’ प्रष्ट पारेको छ ।

‘यस विषयमा कुनै अन्यथा भएको भए अध्ययन गरी प्रतिवेदन प्रस्तुत गर्न प्राज्ञ परिषद्ले प्रा.डा. चूडामणि बन्धुको संयोजकत्वमा प्रा.डा. नोबल किशोर राई र श्री हेमनाथ पौडेल सदस्य रहेको एक समिति निर्माण गरी आवश्यक अध्ययन प्रक्रिया अगि बढाएको छ’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘उक्त समितिको प्रतिवेदन प्राप्त भएपछि ‘नेपाली बृहत् शब्दकोश’मा केही सुधार गर्नु पर्ने भएमा नेपाल प्रज्ञा–प्रतिष्ठान आवश्यक सुधार गर्न प्रतिबद्ध छ ।’

प्रज्ञा–प्रतिष्ठानले भाषाविद् एवम् भाषाका प्रयोगकर्ताहरूसँगको संवादका माध्यमबाट वर्ण विन्यास सम्बन्धी समस्या समाधान गर्न सदा तत्पर रहेको कुरा पनि स्पष्ट पारेको छ ।

प्रकाशित मिति: २ आश्विन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्