भारत र चीनबाट स्वास्थ्य सामग्री आउने, तर अनुदान कि खरिद ?




काठमाडौं, वैशाख २
सेनाले कोरोना रोकथाम तथा नियन्त्रणका स्वास्थ्य सामग्री भारत र चीनबाट खरिद गर्ने टुंगो लगाएको छ । भारतबाट ६० प्रकारका औषधि र चीनबाट अन्य स्वास्थ्य सामग्री ल्याइनेछ । तर, सरकारले भारतबाट अनुदानमा ल्याउने वा खरिद गर्ने तथा चीनबाट ल्याउने सामग्रीको भुक्तानी मोडालिटी टुंगो लगाएपछि मात्रै खरिद प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ ।

जिटुजी विधिअनुसार सामान खरिदको समन्वय गर्ने जिम्मा सेनालाई दिनुअघि नै सरकारले भारत र चीनलाई स्वास्थ्य सामग्रीको सूची पठाएर अनुदानमा उपलब्ध गराइदिन आग्रह गरेको थियो । दुवैले उपयुक्त समयमा सकेको सहयोग गर्ने वचन दिएका थिए ।

स्रोतका अनुसार चिनियाँ सरकारी कम्पनीले अग्रिम भुक्तानी मागेको छ । भारतीय कम्पनीले उधारोसम्ममा औषधि दिन सक्ने वचन दिएको स्रोतले जनाएको छ ।

‘भारतबाट ६० प्रकारका औषधि ल्याउने विषय टुंगिएको छ, तर अनुदानमा ल्याउने कि खरिद गर्ने भन्ने निर्णय हुन बाँकी छ । त्यस्तै, चीनबाट ल्याउने सामग्रीको भुक्तानी मोडालिटी पनि मन्त्रिपरिषद्ले टुंगो लगाउनुपर्नेछ,’ सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले भने । चीनबाट तीन चरणमा ल्याउने सामग्रीको सूची सेनाले सरकारलाई बुझाइसकेको छ । 

सेना र चिनियाँ अधिकारीबीच सोमबारसहित तीन चरणमा भिडियो कन्फ्रेन्समा छलफल भएको थियो । सामग्री खरिदबारे छलफल गर्न आइतबार जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापा, मुख्यसचिव लोकदर्शन रेग्मी, रक्षासचिव रेश्मीराज पाण्डे, आपूर्तिसचिव वैकुण्ठ अर्याल, स्वास्थ्यसचिव यादव कोइरालालगायतका अधिकारी र सेनाद्वारा गठित खरिद इकाइसम्बद्ध अधिकारीहरूको बैठक बसेको थियो । बैठकले तय गरेको सूचीका आधारमा सोमबार चीनसँग छलफल भएको छ । 

सेनाले स्वास्थ्य सामग्री खरिदका लागि भारत, चीन, दक्षिण कोरिया, सिंगापुर र इजरायललाई पत्राचार र अनौपचारिक छलफल पनि गरेको थियो । दक्षिण कोरियाले स्वास्थ्य सामग्री उत्पादक कम्पनीहरूको सूची दिएको छ ।

इजरायलमा यसबीचमा सार्वजनिक बिदा भएका कारण जवाफ आएको छैन । सिंगापुरले पनि जवाफ पठाएको छैन । भारतले नेपाललाई अनुदानमा १० लाख ट्याब्लेट हाइड्रोक्सिक्लोरोकिन औषधि दिने निर्णय गरिसकेको छ । यो अहिलेको खरिद प्रक्रियासँग सम्बन्धित छैन । 

सैनिक प्रवक्ता पाण्डेका अनुसार भारत र चीन दुवैले सामान नेपालमै पुर्‍याउन नसक्ने जानकारी पठाएका छन् । भारतले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली दूतावासको रोहवरमा सामान दिने बताएको छ ।

त्यस्तै, चीनले आफ्नो व्यापारिक सहर ग्वान्जाओमा हस्तान्तरण गर्ने जानकारी गराएको छ । भारतमा नेपाली दूतावास र ग्वान्जाओमा नेपाली महावाणिज्य दूतावासले स्वास्थ्य सामग्री बुझ्नेछन् ।

सरकारले १६ चैतमा जिटुजी विधिअनुसार स्वास्थ्य सामग्री खरिद गर्ने र त्यसको समन्वय गर्ने जिम्मा सेनालाई दिएको थियो । सरकारको निर्देशनअनुसार सेनाले खरिद प्रक्रिया अघि बढाएको हो । खरिद प्रक्रियामा स्वास्थ्य मन्त्रालय, विज्ञहरू र रक्षा मन्त्रालयका अधिकारी पनि समावेश छन् ।

प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्याल नेतृत्वको कोभिड– १९ आपत्कालीन व्यवस्थापन केन्द्र (सिसिएमसी) बाट खरिद गरिने सामग्रीको सूची तयार गरिएको हो । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News