लकडाउनले पछि धकेलियो ‘हिजोआजका कुरा’ को रिलिज
काठमाडौं, बैशाख २
लकडाउनका कारण फिल्म ‘हिजो आजका कुरा’ रिलिज अनिश्चित भएको छ ।
निर्माण कम्पनी पन्त फिल्म प्रोडक्सनले विज्ञप्ति जारी गर्दै फिल्मको रिलिज मिति स्थगित भएको जनाएको हो ।
बरिष्ठ हाँस्य अभिनेता सन्तोष पन्तको कथा र निर्माणमा उनकै छोरा साकारको निर्देशन रहेको फिल्म रिलिज मिति बैशाख १२ गते तय भएको थियो । कोरोनाको त्रासका कारण सरकारले देशभर लकडाउन गरेको अवस्थामा फिल्म प्रदर्शन हुन नसक्ने देखेर निर्माण युनिटले रिलिज स्थगित गरेको हो ।
‘अहिलेको बिषम परिस्थितिले गर्दा हाललाई फिल्म प्रदर्शन स्थगित गरिएको छ’ बिज्ञप्तीमा अगाडि भनिएको छ ‘यहाँहरुले हामी र हाम्रो फिल्म प्रति देखाउनु भएको माया र भरोसा प्रति हामी नतमस्तक छौं । जनजीवन सामान्य अबस्थामा फर्किएपछि हामी हाम्रो फिल्मको नयाँ प्रदर्शन मिति तय गर्नेछौं ।’
सामाजिक बिषयबस्तुमा निर्माण भएको फिल्म ‘हिजो आजका कुरा’मा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिब्यदेव पन्त, रिमा बिश्वकर्मा, जयनन्द लामा, जेविका कार्की, रमेश अधिकारी, बिनय कुँइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सविन शाक्य लगायत कलाकारको अभिनय देख्न सकिन्छ ।
रवि सायमीको छायाँकन, सन्दीप कृष्ण, साकार पन्त र निरन्जन पन्तको लेखन रहेको फिल्मको कार्यकारी निर्मातामा प्रतिभा पन्त, सह निर्मातामा बैकुण्ठप्रसाद उपाध्याय र सचितकुमार मिश्र रहेका छन् ।
फिल्मको केही पहिले सार्वजनिक ‘माया जदौ’ गीत युट्युवमा अहिलेसम्म हिट छ ।