विद्यालयमा बम पड्काउने यी को हुन् ?


 


20092016094852comboकाठमाडौं, असोज ४

माओवादीका पूर्व लडाकु समूहले मंगलबार उपत्यकाका ११ निजी विद्यालयमा बम राखेर आतंक मच्चाएका छन् । उनीहरूले चन्दा असुलीका लागि धम्क्याउन आततायी घटना गराएका हुन् ।
माओवादी शान्ति प्रक्रियामा आएपछि असहमति जनाउँदै माओवादी कम्युनिष्ट केन्द्रका नाममा सक्रिय समूहले काठमाडौंका १० र ललितपुरको एक विद्यालय अगाडि बम राखेका हुन् । राखिएका बममध्ये २ वटा बिष्फोट भएका थिए ।

बिष्फोटमा मानवीय र भौतिक क्षति भने भएन । नौ वटा बम सुरक्षा निकायले निस्कृय बनाएको थियो ।

बम बिष्फोटमा संलग्न रहेको अभियोगमा शंकर लाखे र चन्द्रबहादुर तामाङ पक्राउ परेका छन् । दुवै माओवादीका पूर्व लडाकु हुन् । लाखे बहिर्गमित लडाकु हुन् ।

अनमिनको अनुगमनमा अयोग्य ठहरिएपछि उनी वैदेशिक रोजगारीका लागि मलेसिया गएर फर्किएपछि केन्द्रमा आवद्ध भएका थिए । २०६२ मा हतियारसहित भागेका तामाङ केन्द्रमा सक्रिय छन् ।

आतंककारी गतिविधीमा संलग्न केन्द्र माओवादीका बटालियन सहायक कमान्डर देवेन्द्रसिंह महतले खोलेका हुन् । उनले बहिर्गमनमा परेका र पूर्व लडाकु समेटेर संगठन खोली आपराधिक गतिविधी गर्दै आएका छन् ।

उपत्यकामा मंगलबार बिहान भएका सबै घटनाको मुख्य योजनाकार महत रहेको महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजी प्रतापसिंह थापाले जानकारी दिए । उनका अनुसार केन्द्रको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्रका संयोजक मीन देवकोटा, योङ कम्युनिष्ट फोर्सका संयोजक सुमन श्रेष्ठ लगायतका व्यक्तिसमेत घटनामा संलग्न देखिएका छन् ।

प्रकाशित मिति: ४ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्