दोहोरो अंकले घट्यो नेप्से, कारोबार भने बढ्यो



काठमाडौं। शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ११.३७ अंकले घटेको छ।

अघिल्लो कारोबार दिनको तुलनामा आज ०.४१ प्रतिशतले घटेको नेप्से २७५५.४१ विन्दुमा रोकिएको हो।

दोहोरो अंकले घटेको नेप्सेमा कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

नेप्सेमा आज ३५१ कम्पनीको ५५ हजार ४६७ पटकको कारोबारमा एक करोड २७ लाख ३२ हजार ८६८ कित्ता सेयर किनबेच भए। जसअनुसार शुक्रबार पाँच अर्ब ६२ करोड ५६ लाख ११ हजार ८२३ रुपैयाँको कारोबार भयो।

नेप्सेमा बिहीबार चार अर्ब ७० करोड ३३ लाख २६ हजार ९४५ रुपैयाँको कारोबार भएको थियो।

आज ७४ कम्पनीका सेयरमूल्य मात्र बढे। १८४ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा ११ कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज १३ समूहको कारोबार भएकामा चार समूहको मात्र सूचक बढे भने बाँकी नौ समूहका सूचक ओरालो लागे।

जसअनुसार वाणिज्य बैंक ०.४४ र विकास बैंक समूहको सूचक ०.१६ प्रतिशतले घटे। फाइनान्स २.७७ र होटेल तथा पर्यटन समूहको सूचक ०.०५ प्रतिशतले बढ्यो।

यसैगरी जलविद्युत् ०.७४‚ लगानी ०.३७‚ जीवन बिमा ०.४४‚ उत्पादन तथा प्रशोधन ०.७८ र लघुवित्त समूहको सूचक ०.१६ प्रतिशतले ओरालो लागे। म्युचुअल फन्ड ०.२७ र निर्जीवन बिमा समूहको सूचक ०.०६ प्रतिशतले बढ्यो। यस्तै अन्य ०.७४ र व्यापार समूहको उपसूचक ०.२३ प्रतिशले घट्यो।

कालिन्चोक हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले १५ प्रतिशतले आम्दानी गर्दा होटेल फरेस्ट इन लिमिटेडका लगानीकर्ताले ४.२२ प्रतिशतले सेयरमूल्य गुमाए।

कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो। शुक्रबार यसको ५५ करोड ७९ लाख ६ हजार ४२७ रुपैयाँको कारोबार भयो।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज पनि आँखुखोला नै अगाडि रह्यो। यसको १३ लाख ५० हजार ६६० कित्ता सेयर कारोबार भयो। आँखुखोलाको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता ४१३ रुपैयाँ कायम रह्यो।

प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्