टेलिकमको प्रवन्ध निर्देशकमा राजभण्डारी नियुक्त


 


kamini-rajbhandariकाठमाडाैं, असाेज ६

नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा कामिनी राजभण्डारी नियुक्त भएकी छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले राजभण्डारीलाई प्रवन्ध निर्देशकमा नियुक्त गरेको हो ।

प्राविधिक तर्फकी वरिष्ठ नायव प्रवन्ध निर्देशक राजभण्डारी तीन जना प्रतिस्पर्धीमध्येबाट छानिएकी हुन् । सचार मन्त्रालयका सचिव दिनेश थपलियाको संयोजकत्वमा गठित छनौट समितिले अन्तिम तीन जनामा सुनिल पोखरेल, मदन खरेल र कामिनी राजभण्डारीको नाम सिफारिस गरेको थियो ।

पोखरेल नेपाल टेलिकमकै प्रवन्धक हुन् भने खरेल नेपाल वायु सेवा निगमका पूर्वमहाप्रवन्धक हुन् । टेलिकमको प्रवन्ध निर्देशकका लागि शुरुमा १३ जनाले आवेदन दिएकामा उनीहरुमध्येबाट पहिलो चरणमा ६ जनाको नाम छनौट लिष्टमा राखिएको थियो ।

त्यसमध्येबाट अन्तिम तीन जनाको नाम मन्त्रिपरिषद बैठकमा पेश गरिएको थियो । नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा यसअघि नियुक्त भएका बुद्धि आचार्य गैरप्राविधिक थिए ।

प्रकाशित मिति: ६ आश्विन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्