कविता-आमाको चिठी


 


शशी लुमुम्बू
छोरा !
रुन्छस् रे तँ सम्झेर घर
लेख्छस् रे कवितामा गाउँ र आमा
सिमेन्टीको घरमा सुते पनि
देख्छस् रे सधैँ झुपडीकै सपना
तर छोरा !
तँ किन आउँदैनस् फर्केर घर ?
र हेर्दैनस् एकफेर बाआमाको मुहार ?

जोसँग पनि गर्छस् रे गाउँकै कुरा
वनजङ्गल, मेलापात र हाटबजारकै कुरा
बिर्सिएको छैन रे जिब्रोले
गुन्द्रुक, ढिँडो र सिस्नुको स्वाद
मकै, भटमास र मोहीको स्वाद
तर किन आउँदैनस् फर्केर घर
र उठाउँदैनस् बाआमाको शिर ?

छोरा !
तेरो बाटो हेर्दाहेर्दै हामी त
आफैँ बाटो हुन लागिसक्यौँ
खोस्रिँदाखोसिँ्रदै खेतबारी
आफैँ माटो हुन लागिसक्यौँ
तँ कहिले आउलास्
र यो नासो जिम्मा लेलास् !

छोरा !
हाम्रा लागि त अब
आँगन पनि परदेश भइसक्यो
हामी डाँडामाथिका घाम–जून
थाहा छैन कुन बेला अस्ताउँछौँ ?

छोरा !
अहिले त मोटर गुड्छन् घरैमाथिबाट
आइस् कि जस्तो लाग्छ त्यही मोटर चढेर
तर आउँदैनस् तँ…
भोगटेनी डाँडाबाट ओर्लिरहेको मान्छे
तँै होस् कि जस्तो देख्छु (धमिला आँखाले)
तर हुँदैनस् तँ…
झस्किन्छु बज्दा मोबाइलको रिङटोन
बोल्दैछस् कि जस्तो लाग्छ
तर बोल्दैनस् तँ… ।

छोरा !
रिसाइस् कि तँ हामीसँग ?
कि बुझेन चित्त केही कुरामा ??
कि परिस् कुनै भयानक परिबन्दमा ???

प्रकाशित मिति: ३ जेष्ठ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्