कोरोनाविरुद्धको खोप पहिलो चरणमा सफल भएको दाबी




बेलायत र चीनका वैज्ञानिकहरूले कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोप परीक्षण पहिलो चरणमा सफल भएको दाबी गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयले अप्रिल २३ मा सुरु गरेको पहिलो चरणको परीक्षण करिब १ हजार जनामा गरिएको हो ।

विश्वविद्यालयले दोस्रो चरणको परीक्षणका लागि बेलायतका १० हजार २ सय ६० जना स्वास्थ्य स्वयंसेवकलाई आह्वानसमेत गरेको छ ।

त्यसैगरी चीनको क्यान्सिनो बायोलोजिक्स इनकर्पोरेसनले पनि कोरोना भाइरसविरुद्धको खोप परीक्षण पहिलो चरणमा सफल भएको जनाएको छ । क्यान्सिनोले पहिलो चरणमा १८ देखि ६० वर्षका १ सय ८ जनामा परीक्षण गरेको थियो ।

अक्सफोर्डका वैज्ञानिकहरूका अनुसार दोस्रो र तेस्रो चरणको परीक्षणमा ५५ वर्षमाथिका वयस्क र ५ देखि १२ वर्षसम्मका बालबालिकालाई सहभागी गराइनेछ ।

अक्सफोर्ड खोप समूहले परीक्षणको अर्को चरणमा वृद्धवृद्धाहरूको रोग प्रतिरोध प्रणालीले यो खोपप्रति कस्तो प्रतिक्रिया जनाउँछ भन्नेमा केन्द्रित रहने जनाएको छ । परीक्षणको नतिजा सेप्टेम्बरसम्म प्राप्त हुने बेलायती अनुसन्धानकर्ताहरूको विश्वास छ ।

बेलायतका सरकारी अधिकारीहरू कोरोना भाइरसविरुद्धको खोप छिट्टै बजारमा आइसक्ने विश्वासमा छन् । ब्रिटिस सरकारले आउँदो सेप्टेम्बरसम्ममा कोभिड–१९ खोपका ३ करोडसम्म डोज उपलब्ध भइसक्ने जनाएको छ ।

व्यापार व्यवसाय मामिला हेर्ने बेलायती मन्त्री आलोक शर्माले अक्सफोर्ड विश्वविद्यालयमा खोपको क्लिनिकल परीक्षण राम्रोसँग अगाडि बढिरहेको र त्यो सफल भए गर्मीयाम नसकिँदै खोप तयार हुने बताएका छन् ।

मन्त्री शर्माले उक्त खोपको पहुँच पाउने बेलायत पहिलो मुलुक हुने भए पनि आफ्नो सरकार विकासोन्मुख देशहरूमा समेत न्यूनतम मूल्यमा खोप उपलब्ध गराउन कटिबद्ध रहेको बताए । स्वास्थ्यमन्त्री म्याट ह्यानककले बेलायती संसद्मा बोल्दै खोपमा सफलता मिले ३ करोड डोज पहिला जोखिममा रहेका मानिसलाई प्रदान गरिने बताएका थिए ।

इम्पेरियल कलेज लन्डनले यही जुनदेखि मानव परीक्षण सुरु गर्दै छ । तर ब्रिटिस सरकारका मुख्य वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भ्यालेन्सले प्रभावकारी खोप विकासको प्रत्याभूति अहिल्यै गर्न नसकिने बताएका छन् ।

विश्वभर महामारीका रूपमा फैलिरहेको कोभिड–१९ विरुद्धको खोप विकास गर्न अहिले बेलायतसहित कैयौं मुलुक जुटिरहेका छन् । विभिन्न देशका वैज्ञानिकहरूबीच खोप पहिल्याउन अहिले होड नै चलेको छ ।

आगामी जुनदेखि मानव परीक्षण सुरु गर्ने तयारी गरिरहेको इम्पेरियल कलेज लन्डनका प्राध्यापक रोविन स्याटकको भनाइअनुसार ब्रिटेन, अमेरिका, चीनलगायत विकसित मुलुकमा कम्तीमा सयवटा परीक्षण जारी छ । कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News