भाषा विवाद समाधान गर्न विज्ञहरुको समिति गठन


 


nepal-academyकाठमाडौं, असोज १३

नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषामा केही समय यता देखिएको विवाद् सम्बन्धमा अध्ययन गरी सुझाव दिन विज्ञहरुको समिति गठन गरेको छ । प्रतिष्ठानले बिहिवार काठमाडौमा पत्रकार सम्मेलन गरी नेपाली भाषाको विकासप्रति नकारात्मक प्रभाव पार्ने गरी वहस र छलफल चलाइएका कारण समिति गठन गरिएको जानकारी दिएको छ ।

प्रतिष्ठानको प्राज्ञ परिषद्को बैठकले प्रा. डा. चुडामणि बन्धुको संयोजकत्वमा प्रा. डा. नोबलकिशोर राई र सहप्राध्यापक हेमनाथ पौडेल सदस्य रहेको समिति गठन गरेको हो । प्रतिष्ठानका सदस्यसचिव प्रा. डा. जिवेन्द्रदेव गिरीले समितिलाई २०४० सालदेखि प्रकाशित नेपाली वृहत् शब्दकोशका विभिन्न संस्करणहरु परिमार्जन गर्दा भएका प्रयोगको अध्ययन गरी सुझाव दिने म्याण्डेट दिइएको बताए ।

नेपाली वृहत् शब्दकोशका हालसम्म ९ वटा संस्करण प्रकाशित भएका छन् । प्रज्ञा प्रतिष्ठानले नेपाली भाषामा प्रचलित वर्ण विन्यास एवम भाषाको लेख्य तथा कथ्य रुपको मानकीकरण गर्ने आधिकारिक निकाय आफू भएको भन्दै भाषाको विषयमा जथाभावी प्रचारवाजी नगर्न भाषाविज्ञहरुसँग आग्रह गरेको छ ।

प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले कतिपय भाषाविज्ञहरुले संयुक्त व्यञ्जनलाई विस्थापित गर्न खोजिएको भनेर गलत प्रचार गरेको भन्दै त्यसप्रति प्रतिष्ठान दुःखी रहेको बताए । खासगरी शिक्षा मन्त्रालय अन्र्तगतको पाठ्यक्रम विकास केन्द्रले नेपाली वर्ण विन्यासको प्रयोग सम्बन्धमा गरेको निर्णयपछि भाषा सम्बन्धी विवाद् चर्किएको हो ।

प्रतिष्ठानले केन्द्रले गरेको निर्णयबाट उत्पन्न परिस्थितिलाई मर्यादित किसिमले सम्बोधन गर्ने जिम्मा सरकारको भएको बताएको छ ।

प्रकाशित मिति: १३ आश्विन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्