प्रधानमन्त्री रोजगार कार्यक्रमलाई विश्‍व बैंकको १४ अर्ब ऋण सहयोग


 


काठमाडौँ, साउन ६
विश्व बैंकले आन्तरिक रोजगार सिर्जना गर्न भन्दै नेपाल सरकारलाई चार वर्षका लागि १४ अर्ब ऋण सहयोग गरेको छ । यो रकम प्रधानमन्त्री रोजगार कार्यक्रमसँग आबद्ध युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनामा खर्च हुनेछ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव र माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले सोमबार आयोजना संयुक्त रुपमा सुरु गर्दै यसबारे जानकारी दिइएको हो ।

आयोजनाले विपन्‍न बेरोजगार युवालाई रोजगारीको अवसर सिर्जना, सीप तथा क्षमता अभिवृद्धि र रोजगारमूलक सेवाको विस्तार मार्फत् श्रम बजारको परिणाममा सुधार ल्याउने जनाएको छ ।

आयोजनाको उद्घाटन गर्दै श्रम मन्त्री यादवले ठूलो संख्यामा श्रमिकले रोजगारी गुमाउन परेको अवस्थामा आयोजनाको तीनै तहबाट परिणाममुखी कार्यान्वयन आवश्यक रहेको बताए ।‘बेरोजगार व्यक्तिको वैयक्तिक विवरण, ज्ञान, सीप र अनुभव, रोजगारीको सम्भाव्य क्षेत्र तथा श्रम बजारका माग र आपूर्ति पक्ष समेतको विवरण एकीकृत गरी श्रमिक सूचना बैंकसहितको स्वचालित पद्धति सुरु गर्न रोजगार व्यवस्थापन सूचना प्रणालीको स्तरोन्नतिमा आयोजनाले योगदान गर्नेछ’, उनले भने ।

विश्व बैंकका राष्ट्रिय निर्देशक जर्भोसले चालु आर्थिक वर्षमा सामाजिक र आर्थिक जोखिममा रहेका करिब ७५ हजार विपन्‍न बेरोजगार युवालाई सार्वजनिक पूर्वाधारको मर्मत सम्भार तथा स्तरोन्नती गर्ने कार्यमा परिचालन गरी एक सय दिनको ज्याला उपलब्ध गराउने वताए ।

अर्थ मन्त्रालय र विश्व बैंकबीच नोभेम्बर २०१९ मा हस्ताक्षर भएको यस आयोजनाबाट कूल रकमको करिब ९० प्रतिशत रकम स्थानीय तहका सार्वजनिक पूर्वाधारको मर्मत सम्भार तथा स्तरोन्नती गर्ने कार्य मार्फत रोजगारी सिर्जनामा खर्च गरिनेछ । जसमध्ये १ लाख बेरोजगार युवालाई रोजगारी प्रदान गरिने लक्ष्य रहेको छ । आयोजनाले सामाजिक समावेशीकरणलाई प्राथमिकता दिए अनुरुप कूल लाभग्राहीमध्ये ६० प्रतिशत महिला लाभान्वित हुनेछन् ।

स्थानीय तहका ७५३ रोजगार सेवा केन्द्र सुदृढिकरण तथा जनशक्ति थप, आवेदन दर्ता तथा सूचीकरण, प्रोफाइल निर्माण, सिफारिस,अल्पकालीन रोजगार तथा कार्यस्थलमा आधारित तालिम आदि क्रियाकलाप सञ्चालन गरी संस्थागत र कार्यक्रमगत सुधारमा आयोजनाले सघाउने विज्ञप्तीमा उल्लेख छ । कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: ६ श्रावण २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्