गाईलाई यातना दिएर टिकटक भिडियो बनाउने सिटी सफारी चालक पक्राउ



काठमाडौँ । सामाजिक सञ्जाल टिकटकमा गाईको बाछीलाई सिटी सफारीको पछाडि बाँधेर दौडाउँदै यातना दिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले उक्त सिटी सफारी र त्यसका चालकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहतका प्रहरी कार्यालयहरूबाट खटिएको टोलीले खोजतलास गरी भिडियोमा संलग्न सिटी सफारी र चालकलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका वडा नम्बर १८ बस्ने नारायण कामत रहेका छन्। प्रहरीले उनले चलाएको प्र। १(०२(००४ ह ४२११ नम्बरको सिटी सफारी समेत बरामद गरेको छ।

गाईलाई अमानवीय तवरले यातना दिँदै गुडाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले तत्कालै सक्रियता देखाएर चालक कामतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिएका छन्। पक्राउ परेका चालकलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ६ असार २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्