रातारात सरकारको बोल्ड निर्णय, प्रहरीदेखि खेलकुदसम्म हलचल!


 


काठमाडौं । सरकारले डिआइजीद्वय निरजबहादुर शाही र प्रद्युम्न कार्कीलाई नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ।

सोमवार साँझ बसेको मन्त्रिपरिषद बैठकले डीआईजीद्वय शाही र कार्कीलाई बढुवा गरेर एआईजी बनाएको हो। बढुवा समितिले केही दिनअघि दुबैको नाम बढुवाका लागि सिफारिस गरेको थियो।

सिफारिसमा परेका दुवै जना प्रहरी महानिरीक्षक (आइजीपी) शैलेस थापा क्षेत्रीसँगै सेवा प्रवेश गरेका हुन्। हरिबहादुर पाल यसअघि एआइजी भइसकेका छन्।

राखेपमा पुन: सिलवाल

त्यसैगरी सरकारले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा रमेशकुमार सिलवाललाई पुन: नियुक्त गरेको छ। नयाँ खेलकुद विकास ऐन आएपछि सदस्य सचिव पद खाली भएको थियो। सिलवालले राजीनामा दिएर आवेदन दिएका थिए। दुइ जना अन्य प्रतिस्पर्धीलाई उछिन्दै उनले बाजी मारेका हुन्। राखेपमा उपाध्यक्षमा शिव कोइरालालाई नियुक्त गरिएको छ।

त्यसैगरी मन्त्रिपरिषदले मधुकुमार मरासिनीलाई सचिवमा बढुवा गरेको छ। मरासिनी प्रदेश ५ को आर्थिक मामिला तथा योजना मन्त्रालयमा सचिव छन्।

यस्तै, बैठकले रेडियो नेपालको कार्यकारी निर्देशकमा बुद्धिबहादुर केसीलाई नियुक्त गरेको छ। खुला प्रतिस्पर्धाबाट केसी कार्यकारी निर्देशक नियुक्त भएका हुन्। केसी रेडियो नेपालकै कर्मचारी हुन्।

यस्तै, बैठकले समाज कल्याण परिषदको उपाध्यक्षमा डा. पदम खतिवडालाई नियुक्त गरेको छ। परिषदको सदस्यमा पुष्कर खातीलाई नियुक्त गरिएको छ।

प्रकाशित मिति: १२ श्रावण २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्