कांग्रेस सभापतिका लागि आठ जना आकांक्षी




काठमाडौं, साउन १३
काङ्ग्रेसको आगामी फागुनका लागि तय भएको १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ ।

केन्द्रीय समितिले स्थानीय तहका अधिवेशनको मिति हेरफेर गर्दै सदस्यता वितरण, पुराना सदस्यता नवीकरण र त्यसका प्रक्रिया अघि बढाएसँगै पार्टीको नेतृत्व हाँक्न आकांक्षीहरूले दौडधुप सुरु गरिसकेका छन् ।

यतिसम्मकी हाल कांग्रेसभित्र स्थापित रहेका गुटभित्रै समेत सभापतिका लागि आकांक्षा देखाउनेहरू बढ्न थालेका छन् । जसअनुसार अहिलेसम्म कसैले पनि आधिकारिक रूपमा घोषणा नगरे पनि कांग्रेसभित्रका तीन फरक फरक गुटमा आठ जना आकांक्षी देखिएका छन् ।

कांग्रेस नेतृत्वका लागि फेरि एक पटक वर्तमान सभापति शेरबहादुर देउवा आफैं उम्मेदवार बन्ने उनी निकट नेताहरू बताउँछन् । पछिल्लो पटक देउवाले पार्टीका विभाग गठन गर्दै सदस्यहरू समेत धमाधम थपिरहेका छन् । देउवाले थप गरिएका सदस्यहरूसँग पुनः एक पटक सभापतिको आकांक्षा देखाएको बताइएको छ ।

यसैगरी, वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत आफू निकट नेताहरूमार्फत सभापतिका लागि आफू तयार रहेको सन्देश दिँदै आइरहेका छन् । तर, उनी आफैंले भने सार्वजनिक रूपमा मुख खोलिसकेका छैनन् ।

यसैगरी, १३औं महाधिवेशनमा सभापतिमा उम्मेदवार बनेर कांग्रेसभित्र आफ्नो गुट स्थापित गरेका नेता कृष्णप्रसाद सिटौलाले समेत पार्टी नेतृत्वका लागि आकांक्षा देखाएका छन् । उनले महाराजगन्जमा भेटघाटका लागि कार्यालय नै खोलिसकेका छन् ।

यसैगरी, हाल उपसभापति रहेका विमलेन्द्र निधिले समेत सभापतिका लागि आफू तयार रहेको सन्देश दिइसकेका छन् । उनले महामन्त्री डा। शशांक कोइरालालाई भेटेरै सभापतिमा आफूलाई सघाउन आग्रह गरेको कोइराला निकट स्रोतले बताएको छ ।

उनी हालका सभापति देउवाका विश्वास पात्रसमेत मानिन्छन् । १४औं महाधिवेशनमा देउवा आफैं उम्मेदवार भए निधिले आफू उम्मेदवार हुने नहुनेबारे छलफल गर्ने बताउँदै आइरहेका छन् । यसैगरी, कांग्रेसका वर्तमान महामन्त्री डा। शशांक कोइरालाले समेत आफू पार्टी नेतृत्वका लागि तयार रहेको बताउँदै आइरहेका छन् ।

यस्तै, कांग्रेस पूर्वमहामन्त्री समेत रहेका नेता प्रकाशमान सिंहले आगामी महाधिवेशनमा आफू पनि नेतृत्वको आकांक्षी रहेको जनाउ दिँदै आइरहेका छन् । यसैगरी, अर्का नेता डा। शेखर कोइरालाले समेत १४औं महाधिवेशनका लागि नेतृत्वका लागि आकांक्षा देखाइरहेका छन् ।

यसैगरी, कांग्रेस युवा नेता गगन थापाले समेत आफू सभापतिको आकांक्षी रहेको जनाउ दिएका छन् । उनले केही दिनअघि राजधानीमा भएको युवा नेताहरूको कार्यक्रममा आफू पार्टी नेतृत्वका लागि तयार रहेको संकेत गरेका हुन् । उनी हाल कांग्रेसभित्र सिटौला समूहसँग निकट छन् । राजधानी दैनिक

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News