पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धिको तयारी


 


काठमाडौं, साउन १३
पेट्रोलियम पदार्थको भाऊ फेरि बढाउने तयारी भइरहेकाे छ । शनिबारदेखि लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाउने तयारी गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएको र भारतीय आयल कर्पोरेसनले पनि मूल्य बढाएर पठाएको भन्दै मूल्य बढाउनुपर्ने निगमको तर्क छ । निगमले कति मूल्य बढ्छ भन्ने खुलाएको छैन तर निगम स्राेतका अनुसार स्वचालित मूल्य प्रणाली अनुसारको समायोजन यो पटक पनि लागु नहुन सक्छ । यसको अर्थ पेट्रोल, डिजेल र मट्टिलेतलमा ३ देखि ४ रुपैंया मूल्य बढ्नेछ । खाना पकाउने ग्यासको मूल्य समेत बढाउने निगमको तयारी छ ।

स्वचालित मूल्य प्रणाली अनुसार प्रत्येक अंग्रेजी महिनाको १ र १६ तारिखका दिन मूल्य समायोजन गर्ने व्यवस्था छ । सोही अनुसार शनिबार (अगष्ट १) देखि लागु हुनेगरी मूल्य फेरि बढाउने तयारी गरेको हो ।

लकडाउनको समयमा एकैपटक १०/१० रुपैंया मूल्य घटाएर पेट्रोलको मूल्य १०६ रुपैंयाबाट ९६ रुपैंया तथा डिजेल र मट्टितेलको मूल्य ९५ रुपैंयाबाट ८५ रुपैंयामा झारेको थियो । तर लकडाउन खुल्दानखुल्दै फेरि जुलाई १ तारिखका दिन एकैपटक पेट्रोलमा ५ तथा डिजेल र मट्टितेलमा २/२ रुपैंया मूल्य बढाएर क्रमशः १०१ रुपैंया र ८७/८७ रुपैंया पुर्याएको थियो ।

तर त्यसको १० दिनमै निगमले फेरि पेट्रोल, डिजेल र मट्टितेलमा १/१ रुपैंया मूल्य बढाएकाे थियाे।

प्रकाशित मिति: १३ श्रावण २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्