स्थगित परीक्षा भदौ पहिलो साता पनि नहुने, पूर्व निर्णय स्थगित


 



काठमाडौँ, २० साउन
स्थगित परीक्षा भदौ पहिलो साता पनि नहुने भएको छ । त्रिभुवन विश्वविद्यालयले भदौ पहिलो सताबाट परीक्षा पुनः सञ्चालन गर्ने पूर्वनिर्णयबाट पछि हटेको हो ।

अब स्थगित परीक्षाको निर्णय लिने विषयमा आफूहरू पर्ख र हेरको अवस्थामा रहेको विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताउनुभयो ।

विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर तहका विभिन्न परीक्षा गत चैतदेखि स्थगित छन् । सरकारको आग्रहपछि सरकारले चैत ७ गते परीक्षा स्थगित गर्ने निर्णय लिएको थियो ।

विश्वविद्यालयले कोरोना भाइरस पछिको अवस्थामा परीक्षा सञ्चालनबारे निर्णय गर्ने डिनहरूले पनि तत्काल परीक्षा सञ्चालन गर्न सक्ने अवस्था नरहेको जानकारी दिएका छन् ।

सङ्क्रमण बढेको अवस्थामा परीक्षाबारे निर्णय लिन नसकिने र यो अवस्थामा परीक्षा सञ्चालन गरिने कार्यतालिका धकेलिने बताउँदै अब स्थगित परीक्षा दसैँअघि हुने सम्भावना न्यून हुँदै गएको बताएका छन ।

परीक्षा सञ्चालनको तयारी गरिए पनि विद्यार्थीसँग सम्पर्क हुन नसकेको र सहज रूपमा सार्वजनिक यातायात सञ्चालन हुन सक्ने परिस्थिति नभएसम्म परीक्षा लिन नसक्ने उनको भनाइ छ ।

विश्वविद्यालयको परीक्षा देशभर एकै पटक लिनुपर्ने भएकाले पनि सङ्क्रमणको अवस्था सामान्य अवस्थामा आउनैपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: २० श्रावण २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्