प्रधानमन्त्री ओलीले भने- सरकारको प्रयासले मात्रै कोरोना नियन्त्रण हुँदैन


 


काठमाडौँ, साउन २०
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रयासले मात्रै कोरोना नियन्त्रण गर्न नसकिने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी विज्ञ र विभिन्न राजनीतिक दलका नेताहरूसँगको परामर्श बैठकमा प्रधानमन्त्री ओलीले यसमा सबैकाे साथ र सहयाेग जरूरी रहेकाे बताए। संकटलाई विरोध गर्ने अवसरका रूपमा नलिन पनि उनले आग्रह गरे। ।

प्रधानमन्त्रीले परामर्श बैठकमा भनेको कुरा उल्लेख गर्दै उनका सञ्‍चार विज्ञ रामशरण बजगाईंले भने, ‘कोभिड नियन्त्रण सरकारले गर्ने कामले मात्र पुग्दैन, जनतामा चेतना जति बढाउन सकिन्छ कोरोनासँग लड्न त्यति सजिलो हुन्छ भन्नुभयो ।’

बैठकमा सहभागी प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि लकडाउन गर्ने/नगर्ने बारे समुदायमा कोरोना संक्रमणको स्तर हेरेर निर्णय लिन सुझाव दिएको बजगाईंले जानकारी दिए । देउवाले बैठकमा भनेका छन्, ‘हरेकलाई सामाजिक दूरी कायम गर्न र मास्क अनिवार्य गर्न कडाई गर्नुपर्‍यो । मुख छोपेर हिँड्न बानी पार्नुपर्‍यो ।’

प्रकाशित मिति: २० श्रावण २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्