कक्षा ११ का विद्यार्थीको परीक्षा शुल्क फिर्ता हुने


 



काठमाडौं, साउन २१
वार्षिक परीक्षा विद्यालयले नै लिने भएपछि कक्षा ११ का विद्यार्थीको परीक्षा शुल्क फिर्ता हुने भएको छ । विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डमा बुझाएको परीक्षा शुल्क वाफतको ६०० रुपैयाँमध्ये ४०० फिर्ता गरिने भएको हो ।

विद्यार्थीहरूको फिर्ता रकम कक्षा १२ को परीक्षा शुल्कमा मिलान गरिने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधिमा कक्षा ११ को वार्षिक परीक्षा सम्बन्धित विद्यालयले नै सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।

कार्यविधिमा नोवेल कोरोना भाइरस (कोभिड–११) महामारीका कारण स्थगित कक्षा ११ को परीक्षा आगामी माघ भन्दा अगाडि लिइसक्नुपर्ने उल्लेख छ । आंशिक तथा ग्रेड बृद्धि परीक्षार्थीले भने २०७७ सालको कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुनुपुर्व परीक्षा दिइसक्नु पर्दछ ।

बोर्डले लिने कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुन परीक्षार्थीले कक्षा ११ का हरेक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ‘डी प्लस’ र प्रयोगात्मकतर्फ ‘सी’ ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।
नियमिततर्फ कम्तीमा ७० प्रतिशत हाजिरी भएका विद्यार्थीहरूलाई मात्र विद्यालयबाट लिइने अन्तिम परीक्षामा सहभागी गराइने निर्देशिकामा उल्लेख छ ।

प्रकाशित मिति: २१ श्रावण २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्