कांग्रेसमा सदस्य संख्या बढाउन बन्दैछ यस्ताे रणनीति


 


काठमाडौं, साउन २३
नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता शतप्रतिशत बढाउने भएको छ। बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकमा नेताहरूबीच नयाँ क्रियाशील सदस्यता बढाउने अनौपचारिक सहमति भएको हो। देशभर नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको काम चलिरहेका बेला कांग्रेसका शीर्ष नेताले सदस्यता दोब्बर बनाउने सहमति गरेका हुन्।

अहिले कांग्रेसमा करिब पाँच लाख क्रियाशील सदस्य छन्। अब पाँच लाख क्रियाशील सदस्य थपिनेछन्। पदाधिकारी बैठकमा भएको सहमतिलाई औपचारिकता दिन केन्द्रीय समिति बैठक बोलाउने नेताहरूले बताएका छन्।

‘छिट्टै केन्द्रीय समिति बैठक बसेर औपचारिक निर्णय हुनेछ’, कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भने। पार्टीका पूर्वपदाधिकारीसहित पदाधिकारी बैठक बसेको हो। विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गर्ने र पार्टी समायोजनका साथै सदस्यता लिन चाहनेको संख्या धेरै भएपछि तल्लो तहबाटै क्रियाशील सदस्यता थप गर्नुपर्ने दबाब आएको हो। यसअघि पार्टी संस्थापन पक्षले क्रियाशील सदस्यता दोब्बर बनाउनुपर्ने प्रस्ताव गरे पनि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले असहमति जनाएको थियो।

कांग्रेसको महाधिवेशन नजिकिएसँगै नेताहरूबीच गुटगत राजनीति गहिरिँदै गएका बेला पदाधिकारी बैठक बसेको हो। ‘पछिल्लो समय शीर्ष नेताबीच संवादहीनताको अवस्था थियो, त्यसलाई तोड्ने काम भएको छ,’ एक पदाधिकारीले अन्नपूर्णसँग भने, महाधिवेशनबारे विभिन्न टीकाटिप्पणी भइरहेका बेला शीर्ष नेताहरू एकै ठाउँमा बसेर छलफल भएको छ।’

महाधिवेशनको मिति तोकिसकेपछि सभापति शेरबहादुर देउवाले विभाग गठनका साथै पूर्णता दिने काम थालेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विरोध गर्दै आएको छ। असन्तुष्ट समूहले पार्टीको केन्द्रीय निर्वाचन समितिमा उजुरीसमेत दिनुका साथै सभापति देउवालाई भेटेरै लिखित ध्यानाकर्षण गराएको थियो।

महाधिवेशनलाई प्रभावित पार्ने गरी विभाग र विभिन्न समिति गठन गरिएकोप्रति पदाधिकारी बैठकमा पनि पौडेलले असन्तुष्टि जनाएका थिए। ‘अहिले आएर किन विभाग गठन गर्दै हुनुहुन्छ, महाधिवेशन गर्नुपर्ने बेलामा विभाग गठन गर्ने र मनोनीत गर्ने कार्य बन्द गर्नुस्,’ पौडेलले भने, ‘समयमै महाधिवेशन गर्ने सुनिश्चितता गर्नुपर्छ।’ साथै उनले केन्द्रीय समितिको बैठक नै नबोलाई भ्रातृसंस्थाको समयावधि थप गरेकोप्रति पनि असहमति जनाएका थिए।

जवाफमा सभापति देउवाले सहमतिमै विभाग गठन गर्न खोज्दा ढिलाइ भएको बताएका थिए। ‘मैले सुरुदेखि नै तपाईंसँग नाम मागेको थिएँ, दिनु भएन,’ उनले भने, ‘अझै पनि समय छ, नाम दिनुस्। सहमतिमै विभाग गठन गरौं।’ उनले विभाग गठन गरेर महाधिवेशन प्रभावित पार्न खोजेको पौडेल समूहको आरोपको खण्डन गरे। ‘तपाईंहरू पनि नाम दिनुस्, मिलेर विभाग बनायो भने कसरी महाधिवेशन प्रभावित हुन्छ ? ’, देउवाले भने, ‘म फागुनमै महाधिवेशन गर्न प्रतिबद्ध छु।’ कांग्रेसले आसन्न फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा पार्टीको १४औं महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ।

पदाधिकारी बैठकको सुरुमै महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको अन्तरिम संरचना समायोजनको काम, भ्रातृसंस्थाको समयावधि थप, भ्रातृ तथा शुभेच्छुक संस्थाको विधान संशोधनलगायतका विषयमा स्पष्ट पारेका थिए। बैठकमा क्रियाशील सदस्यता छानबिन समिति गठनबारे छलफल भए पनि टुंगो भने लाग्न सकेन। कांग्रेस विधानले सभापतिलाई समिति गठनको अधिकार दिएको छ।

सभापति देउवाले अब बस्ने केन्द्रीय समिति बैठकमा संयोजक तोक्ने बताएका छन्। साथै उनले वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग समिति सदस्यको नाम मागेका छन्। अन्नपुर्ण पाेष्टबाट

प्रकाशित मिति: २३ श्रावण २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्