जारको पानीको मूल्यमा सरकारलेनै गर्यो झेल, उपभोक्ता ठगिने सम्भावना


 



काठमाडौं, साउन ३०
सर्वसाधारणले दैनिक उपभोग गर्ने जारको पानीमा सरकारबाटै झेल भएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले तयार पारेको प्रतिवेदनअनुसार उद्योगले एक जार पानी औसत २५ रुपैयाँमा बिक्री गर्छन् ।

तर विभागले भदौ १० देखि लागू हुने गरी सर्वसाधारणका लागि अधिकतम मूल्य (एमआरपी) ५० रुपैयाँ निर्धारण गरेको छ । अहिले सर्वसाधारणले एक जार पानी किन्दा औसतमा ३५ देखि ४० रुपैयाँ तिरिरहेका छन् । भदौ १० देखि भने बढेको मूल्य तिर्नुपर्ने जानकार बताउँछन् ।

विभागले खुद्रा मूल्य ४० रुपैयाँ नै रहेको र एमआरपी ५० रुपैयाँ निर्धारण गरेको दाबी गरे पनि उपभोक्ता ठगिने सम्भावना उच्च रहेको विभागकै अधिकारीको भनाइ छ ।

अहिलेको प्रतिवेदनले उपभोक्ताभन्दा उद्योगी पोस्नेमा केन्द्रित रहेको ती अधिकारीले बताए । उक्त भनाइलाई नेपाल बोटलर्स वाटर एसोसिएसनका केही अधिकारी पनि पुष्टि गर्छन् ।

मूल्यमा एकरूपता ल्याउने जनाउँदै वाणिज्य विभागका निर्देशक सागर मिश्रको संयोजकत्वमा असार २५ मा कार्यदल गठन भएको थियो । मूल्य निर्धारणका नाममा गठित कार्यदलको टोलीले २१ पानी उद्योगको निरीक्षण गरेको थियो । त्यसमा दुई वटा पानी उद्योगले मात्रै ३५ रुपैयाँभन्दा बढीमा जार बिक्री गरेको पाइएको थियो । गोकर्णेश्वर नगरपालिकामा रहेको बराल खानेपानी सेवाले एक जार पानी ११ रुपैयाँमा बिक्री गरेको कार्यदलले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार गोकर्णेश्वरमै रहेको बी एन्ड एस खानेपानी उद्योग प्रालि र कागेश्वरी मनहरा नगरपालिका–९ काठमाडौंमा रहेको शीतल जल उद्योगले एक जारको मूल्य १५ रुपैयाँ लिँदै आएका छन् ।

बूढानीलकण्ठस्थित सन्देश मिनरल वाटर प्रालिले एक जारको २० रुपैयाँ, बूढानीलकण्ठ मिनिरल वाटर प्रालिले १५ रुपैयाँ, पशुपति स्प्रिङ वाटर उद्योग काठमाडौले १० रुपैयाँ, ग्रिनल्यान्ड मिनरल वाटर एन्ड वेभरेज प्रालिले १० रुपैयाँ, आक्वा सञ्जीवनी वाटर प्युरिफिकेसन इन्डस्ट्रिजले १५ रुपैयाँ, परिवेश महत वाटर उद्योग प्रालिले २० रुपैयाँ, सपनतीर्थ बेभरेज प्रालिले १५ रुपैयाँ, विभूति वाटर एन्ड बेभरेज प्रालिले २० रुपैयाँ, क्याम्प वाटर प्रालिले १५ रुपैयाँ र पचली भैरव पानी प्रशोधन उद्योग धापाखेलले १५ रुपैयाँमा बिक्री गरेको प्रतिवेदनमा उल्लेख छ ।

यीबाहेक कागेश्वरी मनहरा नगरपालिका–९ को कृष्ण बेभरेजले प्रतिजार ३५ रुपैयाँ र काठमाडौं महानगरपालिका–२६ मा रहेको परिवेश महत वाटर उद्योग प्रालिले १ सय २५ रुपैयाँमा बिक्री गरेको छ । २१ उद्योगको निरीक्षणमा औसत २५ रुपैयाँमा बिक्री गरेको फेला परे पनि खुद्रा बजारमा अध्ययन नगरी एमआरपी मूल्य तोकिएको छ । जसले गर्दा सर्वसाधारणलाई भार पर्ने देखिन्छ ।

स्रोतका अनुसार कार्यदललाई ०७३ सालको मापदण्डअनुसार मूल्य घटाउन टीओआर दिइएको थियो । ‘माइन्युट नै ०७३ सालको मापदण्डभित्र रहेर मूल्य घटाउनुपर्ने थियो,’ स्रोतले भन्यो, ‘यही भएर खुद्रा बजारमा निरीक्षण गरेनौं ।’ त्यस बेला तत्कालीन वाणिज्य मन्त्रालयका सचिव प्रेमकुमार राईको अध्यक्षतामा बसेको बैठकले जारको पानीको मूल्य ६० रुपैयाँ र बोटलको १८ रुपैयाँ तोक्ने निर्णय गरेको थियो । तर बजारमा जारको पानी सस्तो भएकाले मूल्य कार्यान्वयन भएन । कान्तिपुर

प्रकाशित मिति: ३० श्रावण २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्