प्रदेशस्तरीय प्रयोगशाला स्थापना गर्दै प्रदेश १


 



विराटनगर, भदौ ५
प्रदेश १ सरकारले राजधानी विराटनगरमा प्रदेशस्तरीय स्वास्थ्य प्रयोगशाला स्थापनाको पहल थालेको छ । स्नात्तकोत्तर क्याम्पस विराटनगरको जग्गा लिजमा लिएर त्यही परिसरमा प्रयोगशाला स्थापनाको पहल सुरु भएको हो ।

शुक्रबार सम्पन्न प्रदेश मन्त्रीपरिषद बैठकले सामाजिक विकास मन्त्राललयलाई यसको सम्पूर्ण प्रक्रिया अघि बढाउन बाटो खोलिदिएको छ । ‘त्रिभुवन विश्वविद्यालय, डिग्री क्याम्पस र सामाजिक विकास मन्त्रालयबीच जग्गाबारे सम्झौता भइसकेको छ’, मन्त्रीीपरिषद बैठकपछि आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् सरकारका प्रवक्ता हिक्मत कार्कीले भने ‘त्यही सम्झौता अनुसार प्रयोगशाला स्थापनाको प्रक्रिया अघि बढाउने निर्णयमा सरकार पुगेको छ ।’
मन्त्रीपरिषद बैठकले हाल सञ्चालनमा रहेको कोशी कोभिड उपचार केन्द्रका लागि स्वास्थ्यकर्मी तथा प्राविधिकहरुको दरबन्दी सिर्जना गरेर तत्कालै पदपूर्ति गर्ने निर्णय पनि गरेको छ । कोरोना उपचार प्रभावकारी तुल्याउन प्रदेशले आफै जनशक्ति थप्ने सरकारको भनाइ छ । मन्त्रिपरिषदले प्रदेशमा आइसोलेसन बेडहरु पनि तत्कालै स्थापना गर्ने जनाएको छ । बिहीबार राति विराटनगरका एक जना विरामीको होम आइसोलेसनमै ज्यान गएको थियो ।

प्रकाशित मिति: ५ भाद्र २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्