चिकित्सक संघद्वारा आकस्मिक र कोरोनाबाहेकका सेवा बहिष्कार


 



काठमाडौं, असोज २४
नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक र कोरोनाबाहेकका सेवा बहिस्कार गर्ने भएको छ ।

चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै १९औँ अनशनमा बसेका डा. गोविन्द केसीको मागको समर्थन गर्दै देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरूमा कोरोना र आकस्मिक सेवाबाहेकका सबै सेवा बहिष्कार गर्ने निर्णय भएको संघले बताएको छ ।

भर्चुअल माध्यमबाट शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको संघका महासचिव डा. बद्री रिजालले बताए । अनशनमा रहेका डा. केसीको जीवन रक्षाका लागि सरकार गम्भीर नभएकाले सेवा बन्द गर्न आफूहरू बाध्य भएको उनले बताए ।

सरकार गम्भीर नहुने र वार्ता एवं संवादलाई औपचारिकतामा मात्रै सीमित गरिएको भन्दै संघले गम्भीर आपत्तिसमेत प्रकट गरेको छ । आइतबारसम्म पनि अनशन अन्त्य गराउने गरी सरकार प्रस्तुत नभए थप कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने रिजालले बताए ।

संघले आइतबारका लागि घोषणा गरेको आन्दोलनको कार्यक्रमलाई संघका सम्पूर्ण शाखा कार्यालयहरू, नेपालभरका सम्पूर्ण स्वास्थ्य संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले कार्यान्वयन गर्ने र त्यसबाट उत्पन्न हुने जुनसुकै परिस्थितिको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने रिजालले बताए ।

२७ दिनदेखि अनशनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

प्रकाशित मिति: २४ आश्विन २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्